विराटनगर ।सुनसरीको हरिनगरा गाउँपालिकामा प्रहरीले बिल विजक नभएको ठूलो परिमाणको काँचो केरासहित दुईवटा पिकअप गाडी र चार जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हरिनगरा गाउँपालिका ४ स्थित भुटाहा बजारमा खटिएको संयुक्त प्रहरी टोलीले उक्त अवैध सामग्री बरामद गरेको हो ।
प्रहरी चौकी भुटाहा र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (पिट) बाट खटिएको टोलीले घुस्कीबाट इनरुवातर्फ आउँदै गरेका गाडीहरूलाई चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा प्र १-०२-००२ च ७४४९ र प्र १-०१-००२ च १८०१ नम्बरका दुईवटा पिकअप गाडीमा बिल विजक नभएको काँचो केरा लोड गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा रतुवामाई गाउँपालिका-०८ का प्रल्हाद दाहाल (चालक), उर्लाबारी नगरपालिका-०८का ज्ञान बहादुर भट्टराई (चालक), भोक्राहानरसिंह गाउँपालिका-०२, सुनसरीका सेराज मिया र कोशी गाउँपालिका-०८ भण्टाबारीका रामेश्वर दास रहेका छन् ।
बरामद गरिएको केरा र दुवै गाडीको कूल मूल्याङ्कन ११ लाख २० हजार रुपैयाँ गरिएको छ ।
नियन्त्रणमा लिइएका मानिस, गाडी र सामानलाई आवश्यक कानुनी कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्धमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।
