Lite Nepal

शनिबार, जेठ १६, २०८३

इलाम । लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (के:लाङ) को संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा आज च्याब्रुङ महोत्सव (के:लाङ प्रदर्शन) हुँदैछ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ माङसेबुङको आयोजनामा माङसेबुङ-१ स्थित गजुरमुखी धाममा एकदिने महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवमा सांस्कृतिक झाँकीसहित आदिवासी लिम्बू समुदायको मौलिक नृत्य च्याब्रुङ नाच (के:लाङ) प्रदर्शन गर्ने, धाननाच (या:लाङ), पालाम, हाक्पारेलगायतको प्रस्तुतिसहित र सांस्कृतिक पोसाकहरुको प्रदर्शनी रहने किरात याक्थुङ चुम्लुङ माङसबुङ अध्यक्ष मनरस लिम्बूले जानकारी दिए । महोत्सवमा ५०० बढी च्याब्रुङ एकसाथ प्रदर्शन गरिने उनले बताए ।

“केलाङ केवल नात वा बाजा मात्र होइन, यो लिम्बू समुदायको इतिहास, सभ्यता र सांस्कृतिक पहिचानसँग जोडिएको अमूल्य सम्पदा हो”, अध्यक्ष लिम्बूले भने, “युवापुस्तालाई मौलिक संस्कृतिसँग जोड्दै यसको संरक्षण र पुस्तान्तरण गर्नु अहिलेको आवश्यकता रहेकाले हामीले महोत्सव आयोजना गर्न लागेका हौँ ।”

महोत्सवमा च्याब्रुङ नाच (के:लाङ), धाननाच (या:लाङ), पालाम, हाक्पारे, ख्यालीलगायत सांस्कृतिक कला प्रस्तुति र लिम्बू पोसाक प्रदर्शनी गरिनेछ । “कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्न ५०० बढी च्याब्रुङ नृत्य(के:लाङ)सहितको सांस्कृतिक कलाहरू रहनेछन्”, अध्यक्ष लिम्बूले भने । उनका अनुसार तागा (पुरुषले लगाउने सांस्कृतिक पोसाक) र मेख्ली (महिलाले लगाउने सांस्कृतिक पोसाक) पनि प्रदर्शन गरिनेछ ।

धार्मिकस्थल गजुरमुखी धाम परिसरमा हुने महोत्सवमा इलामको १० वटा स्थानीय तहसहित झापा र पाँचथरका किरात याक्थुङ चुम्लुङको सहभागिता रहनेछ । नयाँ र पुराना पुस्ता मिलेर पुर्ख्यौली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको सचिव असिम योङहाङले बताए ।

महोत्सव आयोजना गर्न माङसेबुङ गाउँपालिकाले रु सात लाख सहयोग उपलब्ध गराएको छ । स्थानीय जातजातिको कला, संस्कृति र पहिचानको संरक्षणमा माङसेबुङ गाउँपालिकाको प्राथमिकता रहेको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।

च्याब्रङ नाच (के:लाङ) को आफ्नै ऐतिहासिकता, नीति र प्रयोगको नियम रहेको जानकार मोहनसिंह थेवे बताउछन् । च्याब्रङ नाच (के:लाङ) विभिन्न जनावर र पशुपक्षीको अभिनय गर्दै समेत नाच्ने गरिन्छ । च्याब्रङ नाच (के:लाङ)मा परिवेशअनुसार च्याब्रुङको ताल पनि फरक हुन्छ । लिम्बू जातिले शताब्दीऔँ अघिदेखि नाच्दै आएको च्याब्रङ नाच (के:लाङ) लाई व्यवस्थित गर्न किरात याक्थुङ चुम्लुङसहित लिम्बू भाषा, संस्कृतिको क्षेत्रमा सक्रिय संघसंस्थाहरुल् प्रयास गर्दै आएका छन् । यद्यपि, राज्यले लगानी र संरक्षणका लागि चासो र तदारुकता नदेखाएको उनीहरूको गुनासो छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालमा लिम्बू जातिको जनसङ्ख्या तीन लाख ५९ हजार ३७९ रहेकामा इलाममा मात्र ४५ हजार सात रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं