झापा । झापाको दमकमा बोराभित्र एक महिलाको शङ्कास्पद शव फेला परेको छ । दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुल मुनि बगिरहेको पानीमा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिहान अन्दाजी ११: ०० बजेको समयमा स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको शव रातो भेस्ट र जिन्सको पाइन्ट लगाएकी अनुमानित ३० देखि ३२ वर्ष जस्तो देखिने महिलाको रहेको छ ।
शव हेर्दा २–३ दिन अगाडि देखि नै पानीमा रहेको र ढाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शवलाई सेतो प्लास्टिकको बोरामा पोको पारेर खोलामा फालिएको हुनाले घटना अत्यधिक शङ्कास्पद रहेको र हत्या गरेर फालिएको हुन सक्ने अनुमान गरिएको छ ।
घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) को कमान्डमा विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएको छ । प्रहरी टोलीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिसकेको छ ।
मृतक महिलाको हालसम्म नाम, थर र ठेगाना (वतन) खुल्न सकेको छैन भने शवको सनाखत हुन पनि बाँकी रहेको छ । मृतक महिलाको बायाँ हातमा एउटा ट्याटु समेत रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काका अनुसार मृतकको पहिचान खुलाउने प्रयास भइरहेको छ ।
प्रहरीले ती महिलालाई चिन्नुहुने अभिभावक, आफन्तजन, साथीभाइ वा छरछिमेकहरूलाई तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीको सम्पर्क नम्बरहरू १००, ९८५२६७०६०९, ९८५२६९००३१ र ९८५२६९०२३२ मा खबर गरिदिन अनुरोध गरेको छ ।