राष्ट्रपति रनिङ शिल्ड : प्रदेशस्तरका लागि मोरङबाट १०६ जना छनोट

६ विधाका ९४ खेलाडीले इटहरीमा प्रतिस्पर्धा गर्ने

Lite Nepal

शनिबार, जेठ १६, २०८३

विराटनगर । कोशी प्रदेशस्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि मोरङबाट ९४ खेलाडीसहित १०६ जनाको टोली छनोट भएको छ ।

जिल्ला खेलकुद विकास समिति मोरङले शुक्रबार र शनिबार आयोजना गरेको छनोट प्रतियोगिताबाट प्रदेशस्तरमा जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडीहरूको टुंगो लागेको हो ।

जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्रकुमार योञ्जन तामाङका अनुसार छनोट टोलीमा ९४ खेलाडी र १२ जना अफिसियल (प्रशिक्षक तथा व्यवस्थापक) रहेका छन् ।

जिल्लाले ६ वटा खेल विधामा खेलाडी छनोट गरेको हो । जसअन्तर्गत भलिबलमा १८, एथलेटिक्समा २२, उसुमा १२, करातेमा १२, तेक्वान्दोमा १२ र कबड्डीमा १८ जना खेलाडी छनोट भएका छन् ।

छनोट भएका खेलाडीहरूले इटहरीमा आइतबारदेखि सुरु हुने प्रदेशस्तरीय प्रतियोगितामा मोरङको तर्फबाट प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाका १ हजार ७ सयभन्दा बढी खेलाडी र प्रशिक्षकहरूको सहभागिता रहनेछ ।

प्रदेशस्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू काठमाडौंमा आयोजना हुने राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुन पाउनेछन् ।

छनोट भएका खेलाडीहरूलाई प्रमाणपत्र वितरण गर्दै अध्यक्ष तामाङले उच्च मनोबलका साथ प्रदर्शन गरी जिल्लाको प्रतिष्ठा बढाउन आग्रह गरे । उनले विभिन्न पालिकाबाट आएका खेलाडी र प्रशिक्षकहरूलाई धन्यवाद दिँदै खेलाडीहरू देशको गौरव भएको बताए ।

‘खेलाडीहरू कसैका गहना मात्र होइनन् जसलाई बन्धक बनाएर राखियोस्, उनीहरू त देशका गौरव हुन्,’ उनले भने ।

प्रतियोगिताअन्तर्गत करातेका खेलहरू मोरङको पथरीमा सञ्चालन गरिएको थियो भने अन्य विधाका खेल विराटनगरस्थित सहिद मैदानमा भएका थिए ।

करातेको संयोजकमा कुन्ती गुरुङ, तेक्वान्दोमा नारायण बुढाथोकी, एथलेटिक्समा दिनेश कर्ण, कबड्डीमा नवीन यादव, उसुमा विनोद मारिक र भलिबल संयोजकमा देवेन्द्र भण्डारी रहेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं