काठमाडौं । कतार एयरवेजले कफी पोखिएर घाइते भएकी यात्रुलाई २ करोड ६१ लाख ९२ हजार ४ सय ६ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने भएको छ ।
विमानभित्र तातो कफी पोखिएर यात्रु घाइते भएको घटनामा काठमाडौँस्थित उपभोक्ता अदालतले यस्तो आदेश दिएको हो ।
ललितपुरकी ५२ वर्षीया प्रीति थापाले दायर गरेको उपभोक्ता मुद्दामा अदालतका अध्यक्ष डा. दिवाकर भट्ट तथा सदस्य गेहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेल सम्मिलित इजलासले यस्तो निर्णय गरेको हो ।
सन् २०२३ जुलाई १० मा कतार एयरवेजको उडान नम्बर क्युआर ७४४ बाट बोस्टन–दोहा हुँदै काठमाडौं आउने क्रममा थापामाथि अत्यधिक तातो कफी पोखिएको थियो ।
क्याबिन क्रुले कफी उपलब्ध गराउने क्रममा सावधानी नअपनाउँदा पेट तथा तिघ्राको संवेदनशील भागमा कफी परेर उनलाई दोस्रो तहको जलन भएको दाबी मुद्दामा गरिएको थियो ।
घटनापछि तत्काल उपचारका लागि औषधि माग गर्दा विमानमै उपलब्ध नभएको र काठमाडौं आइपुग्नुअघि करिब तीनदेखि चार घण्टा पीडामै यात्रा गर्नुपरेको थापाको भनाइ थियो । नेपाल आएपछि उनले कीर्तिपुरस्थित जलन अस्पतालमा उपचार गराएकी थिइन् ।
मुद्दाको सुनुवाइका क्रममा अदालतले अन्तर्राष्ट्रिय हवाई यात्रासम्बन्धी सन् १९९९ को मोन्ट्रियल महासन्धि र नेपालको उपभोक्ता संरक्षण ऐन, २०७५ लाई कानुनी आधार बनाएको छ । महासन्धिको धारा १७ ले हवाई यात्राका क्रममा भएको दुर्घटनाबाट यात्रुलाई शारीरिक क्षति पुगेमा हवाई सेवा प्रदायकको दायित्वसम्बन्धी व्यवस्था गरेको छ ।
कतार एयरवेजले कफी यात्रुकै कारण पोखिएको दाबी गर्दै आफ्नो जिम्मेवारी अस्वीकार गर्न खोजेको थियो । तर अदालतले उक्त प्रतिरक्षालाई मान्यता दिएन ।
वादी थापाले उपचारमा लागेको खर्च, शारीरिक तथा मानसिक पीडा र आम्दानीमा परेको असरसमेतलाई आधार बनाएर २ लाख अमेरिकी डलर बराबर क्षतिपूर्ति माग गरेकी थिइन् ।