Lite Nepal

मंगलबार, कार्तिक १७, २०८३

भोजपुर । निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो परेको छ । वर्षाका कारण रोकिएको धान काट्ने र थन्क्याउने काममा मौसम खुलेसँगै किसान बिहानैदेखि खेतबारीमा व्यस्त हुन थालेका हुन् ।

धान पाकेर खेतमा पहेँलपुर भएको अवस्थामा परेको बेमौसमी वर्षाले धान भित्र्याउने काम प्रभावित भएको थियो । अहिले किसान खेतमा धान काट्ने, मुठा बाँध्ने, सुकाउने र घरमा भण्डारण गर्ने काममा जुटेका छन् । कतिपय स्थानमा किसानले एकअर्काको खेतमा अर्मपर्म गरेर धान थन्क्याउन लागेको छन् ।

भोजपुर नगरपालिका–५ का किसान बमबहादुर कार्कीले मौसम खुलेपछि धान भित्र्याउन सहज भएको बताए । “केही दिनअघिको वर्षाले धान थन्क्याउने काममा ढिलाइ भयो । अहिले मौसम खुलेपछि राहत मिलेको छ”, उनले भने, “अर्मपर्म गरेर भए पनि सबैले आ–आफ्नो खेतको धान थन्क्याउने काम गरिरहेका छौँ । अहिले हाम्रो मुख्य काम नै धान भित्र्याउनुभएको छ ।”

किसान अन्य काम छाडेर धान भण्डारणको काममा लागेको स्थानीय किसान नवराज फुयाँलले बताए । वर्षाका कारण धानबालीमा केही क्षति पुगे पनि बाँकी रहेको उत्पादन जोगाउन किसान लागिपरेका उनको भनाइ छ ।

“हामी किसान धान भण्डारणको काममा लागेका छौँ”, उनले भने, “अहिलेको कामको मुख्य प्राथमिकता नै धान हो । सबैले एकसाथ काम थालेकाले गाउँघरमा खेतला पाउन नै मुस्किल छ ।”

धान भोजपुरका किसानको प्रमुख खाद्यबाली हो । जिल्लाका नौ वटै स्थानीय तहमा धान खेती हुँदै आएको छ । मौसममा आएको सुधारले धान भित्र्याउन सहज भए पनि वर्षाका कारण धानबाली केही क्षति पुगेपछि भने किसान चिन्तित बनेका छन्

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं