Lite Nepal

मंगलबार, भाद्र २३, २०८३
फाइल फोटो

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको अपमान नगर्न पुराना दलका नेताहरूलाई चेतावनी दिएका छन्। उनले आन्दोलनलाई विभिन्न ढंगले व्याख्या गरेर कमजोर बनाउने प्रयास नगर्न आग्रह गर्दै ‘इतिहासलाई फेर्न नसकिने’ बताएका हुन्।

जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले पुराना दलका नेताहरूको सोच परिवर्तन हुनुपर्ने बताए।

‘अझै पनि पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गरेको देख्दा अचम्म लाग्छ। उहाँहरू सबैलाई भन्न चाहन्छु—त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्,’ उनले भने।

उनले जेनजी आन्दोलनलाई अपमान गर्नु भनेको आम नेपाली जनताको भावनाको अपमान गर्नु भएको दाबी गरे। ‘यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईंले ३ करोड नेपाली जनतालाई अपमान गरिरहनुभएको छ, यो पनि स्मरण रहोस्। त्यही भएर सुध्रिनुस्। अझै पनि समय छ, सुध्रिनुस्। त्यही पुरानो सोचले नयाँ नेपाल तपाईंले बनाउन सक्नुहुन्न,’ गुरुङले भने।

गृहमन्त्री गुरुङले आफूहरू सत्ता र शक्तिको लोभमा नभई जनताको विश्वास र समर्थनका कारण सरकारमा पुगेको दाबी गरे। उनले भदौ २३ को आन्दोलनमा आफूहरू सत्ताको पछाडि नलागेको पनि बताए।

‘भदौ २३ मा पनि हामी तपाईंको सत्ताको पछाडि थिएनौँ। न त हामीलाई सत्ताको लोभ नै छ, न त शक्तिको घमण्ड नै छ। अहिले पनि छैन,’ उनले भने। मन्त्रीका रूपमा आफूले गर्ने कामप्रति आफू सधैँ सचेत र जिम्मेवार रहेको पनि उनले बताए। आफूबाट कुनै कमजोरी नहोस् भनेर निरन्तर सजग रहने गरेको उनको भनाइ थियो।

‘मलाई सुत्न पनि डर लाग्छ। कुनै दिन मबाट कुनै कमजोरी पो भइहाल्ने हो कि, सयमा दिनुपर्नेमा ९९ मात्र पो दिने हो कि भन्ने चिन्ता हुन्छ। म आफूले सक्ने हरदम प्रयास गरिरहेको छु। म मात्र नभएर हाम्रो सरकारका सबै मन्त्रीले काम गरिरहनुभएको छ,’ उनले भने।

गुरुङले सुशासनको माग गर्दै सडकमा उत्रिएका युवामाथि तत्कालीन सरकारले गोली चलाएको आरोपसमेत लगाए। जनताको सुशासन र जवाफदेहिताको मागलाई दबाउन बल प्रयोग गरिएको उनको भनाइ थियो।

उनले वर्तमान सरकारले जेनजी आन्दोलनका माग र भावनालाई सम्बोधन गर्ने गरी काम गरिरहेको दाबी गरे। आन्दोलनका क्रममा उठेका सवाललाई सम्बोधन गर्दै नयाँ र जवाफदेही शासन प्रणाली निर्माणमा सरकार केन्द्रित रहेको उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं