काठमाडौँ । १२ वर्षको उमेरमै आफ्नै स्मार्टफोन हुने बालबालिकामा स्मार्टफोन नहुने दौँतरीको तुलनामा ‘इटिङ डिसअर्डर’ (खानपानसम्बन्धी समस्या) का लक्षण देखिने सम्भावना बढी हुने एक नयाँ अध्ययनले देखाएको छ।
‘जामा नेटवर्क ओपन’मा प्रकाशित अध्ययन अमेरिकाभरका करिब ९ हजार किशोरकिशोरीमा गरिएको सर्वेक्षणमा आधारित छ। अध्ययनका प्रमुख लेखक डा. जेसन नागाटाका अनुसार, स्मार्टफोनमार्फत बालबालिकाले शरीरको बनावट र बाहिरी स्वरूपमा केन्द्रित सामाजिक सञ्जालका सामग्रीमा सजिलै पहुँच पाउँछन्, जसले शरीरप्रतिको असन्तुष्टि र अस्वस्थ खानपानको जोखिम बढाउन सक्छ।

अनुसन्धानकर्ताले ‘एडोलेसेन्ट ब्रेन कग्निटिभ डेभलपमेन्ट स्टडी’को तथ्यांक विश्लेषण गर्दा १२ वर्षका करिब ७० प्रतिशत बालबालिकासँग आफ्नै स्मार्टफोन रहेको पाए। तीमध्ये २४ प्रतिशतमा १४ वर्ष पुग्दासम्म कम्तीमा एउटा इटिङ डिसअर्डरको लक्षण देखिएको थियो। स्मार्टफोन नभएका बालबालिकामा भने यस्तो लक्षण १६ प्रतिशतभन्दा कममा देखिएको थियो।
स्मार्टफोन भएका बालबालिकाले आफ्नो आत्मसम्मानलाई तौलसँग जोड्ने सम्भावना करिब दुई गुणा र तौल नियन्त्रणका लागि कम क्यालोरी खाने वा अत्यधिक व्यायाम गर्ने सम्भावना करिब डेढ गुणा बढी रहेको अध्ययनले देखाएको छ।
अनुसन्धानकर्ताका अनुसार, सामाजिक सञ्जालमा सम्पादन गरिएका तथा फिल्टर प्रयोग गरिएका तस्बिरसँग आफ्नो तुलना गर्दा शरीरप्रतिको असन्तुष्टि र कम आत्मसम्मान बढ्न सक्छ। यसले खानपानसम्बन्धी समस्याको जोखिममा योगदान गर्न सक्ने उनीहरूको भनाइ छ।
अभिभावकले के गर्न सक्छन् ?
विशेषज्ञहरूले साना बालबालिकालाई स्मार्टफोन दिन ढिला गर्न र फोन दिएपछि पनि प्रयोगमा स्पष्ट सीमा निर्धारण गर्न सुझाव दिएका छन्। एप डाउनलोडमा नियन्त्रण गर्ने, सुत्ने कोठामा फोन नलैजाने र सामाजिक सञ्जालको प्रयोग क्रमशः सुरु गराउने उपाय अपनाउन सकिन्छ।
अभिभावकले बच्चाले अनलाइनमा के हेरिरहेका छन् भन्नेबारे खुलेर कुराकानी गर्नुका साथै उनीहरूको खानपान, तौल वा शरीरप्रतिको धारणामा आएको परिवर्तनमा पनि ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ।
अध्ययनले स्मार्टफोन दिने कुनै निश्चित ‘सही उमेर’ तोकेको छैन। तर बालबालिकालाई स्मार्टफोन दिनुअघि र दिएपछि डिजिटल सामग्री, सामाजिक सञ्जाल र प्रयोगको समयबारे अभिभावकीय निगरानी आवश्यक रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्।