काठमाडौं । भारतको जम्मु-कश्मीरस्थित कठुआ जिल्लामा केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) का एक जवानले सहकर्मीमाथि गोली चलाउँदा असिस्टेन्ट कमान्डेन्टसहित चार जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार मंगलबार साँझ करिब साढे ७ बजे बसोहलीनजिकै माश्कामा घटना भएको हो ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सीआईएसएफका हेडकन्स्टेबल अभिदेश कुमारका केही सहकर्मीसँग विवाद भएको थियो । त्यसपछि उनले आफ्नो साथमा रहेको राइफलबाट सहकर्मीमाथि गोली चलाएको आरोप छ ।

गोली लागेर चार जना सीआईएसएफ कर्मचारी गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि नजिकैको एनएचपीसी अस्पताल लगिएको थियो । उपचारका क्रममा चारै जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा असिस्टेन्ट कमान्डेन्ट अंकितकुमार पाण्डे, सब–इन्स्पेक्टर लक्ष्मण सिंह, कन्स्टेबल रफीक अहमद र कन्स्टेबल सन्दीप कुमार रहेका छन् ।
घटनापछि अन्य सीआईएसएफ जवानहरूले हेडकन्स्टेबल अभिदेश कुमारलाई नियन्त्रणमा लिएका थिए । उनलाई पछि प्रहरीले पक्राउ गरेको छ । घटनामा प्रयोग भएको राइफलसमेत बरामद गरिएको अधिकारीहरूले बताएका छन् ।
घटनाको जानकारी पाएलगत्तै सीआईएसएफ र प्रहरीका वरिष्ठ अधिकारी घटनास्थल पुगेका थिए । घटनाको वास्तविक कारण र गोली चलाउनुको परिस्थितिबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।
-बीबीसी हिन्दीबाट