काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग तातोपानी भन्सार नाका तत्काल सञ्चालनका लागि आवश्यक कूटनीतिक तथा प्राविधिक सहजीकरण गर्न आग्रह गरेका छन्।
रसुवागढी–केरुङ नाकामा बाढीबाट क्षति पुगेपछि नेपाल–चीन व्यापार तथा आपूर्ति शृंखलामा परेको दबाब कम गर्न तातोपानी नाका शीघ्र सञ्चालन गर्नुपर्नेमा श्रेष्ठले जोड दिए। जवाफमा राजदूत झाङले व्यापारिक मार्ग यथाशीघ्र सञ्चालनका लागि नेपाली र चिनियाँ अधिकारीबीच संयुक्त स्थलगत निरीक्षण भइरहेको जानकारी दिए। उनले सडक तथा पूर्वाधार पुनर्स्थापनाका लागि चिनियाँ पक्षले द्रूत कार्य टोली परिचालन गरेको बताए।

बाढीबाट रसुवागढी–केरुङतर्फको पुल, भन्सार कार्यालय, सुख्खा बन्दरगाह तथा करिब ४५ किलोमिटर सडकमा क्षति पुगेको महासंघले जनाएको छ। भेटमा नेपाल–चीन निजी क्षेत्रबीच व्यापार, लगानी र आर्थिक पुनरुत्थानका चुनौतीबारे छलफल गर्न संयुक्त व्यापार मञ्च आयोजना गर्ने विषयमा समेत कुराकानी भएको थियो।
