Lite Nepal

शुक्रबार, आश्विन १६, २०८३

विराटनगर । विराटनगरसहित मिथिलाञ्चल क्षेत्रमा मैथिली तथा थारू समुदायले मनाउने जितिया पर्व आजदेखि सुरु भएको छ। मिथिलानी महिलाले मनाउने व्रतमध्ये जितिया व्रतलाई सबैभन्दा कठोर व्रत मानिन्छ। तीन दिनसम्म मनाइने यस पर्वको पहिलो दिन व्रतालु महिलाहरू बिहानै उठेर ‘ओंगठन’ (दही, चिउरा, सख्खर, केरालगायतका प्रसाद) खाने गर्छन्। त्यसपछि उनीहरू आइतबार साँझसम्म निराहार उपवास बस्ने परम्परा छ।

व्रतका क्रममा डकारे, मुखबाट खकारे वा जिब्रो टोकेमा व्रत असफल हुने धार्मिक मान्यता रहेकाले जितिया व्रतलाई कठोर व्रतका रूपमा लिइन्छ। सन्तानको दीर्घायु, पुत्र प्राप्ति तथा पारिवारिक सुख–शान्तिको कामनासहित मनाइने जितिया पर्वको धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ। मिथिला क्षेत्रमा पुत्र भएका महिलाले विशेष रूपमा यो पर्व मनाउने परम्परा छ।

पर्वको पहिलो दिन साँझ सूर्यास्त हुनुअघि व्रतालु महिलाहरू खोला, तलाउ वा पोखरीमा गई स्नान तथा पूजा गर्ने गर्छन्। त्यसपछि जितमहानको कथा सुन्न गाउँको एक स्थानमा भेला हुने चलन छ। कथा सुन्नका लागि केरा, चिउरा, दही, चिनी लगायतका परिकारसहित आवश्यक पूजासामग्री तयार गरिन्छ।

व्रतको दोस्रो दिन पनि व्रतालु महिलाहरू बिहानै उठ्ने गर्छन्। दाइभाइको संख्याका आधारमा बेलका पात गाँसेर धनुष बनाउने तथा ‘जाकुर’ (मासको परिकार)  र अन्य पूजासामग्री लिएर खोलामा गई स्नान तथा पूजा गर्ने परम्परा छ।

स्नान र पूजा सकेर घर फर्किएपछि व्रतालु महिलाहरूले भान्सामा गाईको गोबरले लिपपोत गरी दही, चिउरा, केरा, चिनी, दूधलगायतका परिकार खाने गर्छन्। व्रतालुले खाइसकेपछि परिवारका अन्य सदस्यले पनि ती परिकार खाने चलन रहेको छ। जितिया पर्वले धार्मिक आस्था र सांस्कृतिक परम्परासँगै परिवार तथा समुदायबीचको सम्बन्धलाई समेत जोडेर राख्ने गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं