Lite Nepal

शुक्रबार, आश्विन १६, २०८३

काठमाडौं । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले मकवानपुरको हेटौंडा र मनहरी क्षेत्रका मध्यवर्ती क्षेत्रका बासिन्दाले विभिन्न समस्या भोगिरहेको भन्दै त्यसको तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थेबेले मध्यवर्ती क्षेत्रका कारण स्थानीय बासिन्दाले घर मर्मत गर्न तथा आफ्नै जग्गामा टहरा निर्माण गर्नसमेत नपाउने अवस्था रहेको बताए।

उनले भने, ‘आज मध्यवर्ती क्षेत्रको कारण त्यहाँको जनताले आफ्नो घर भत्किँदा टाल्न पाएको छैन । आफ्नो जग्गामा एउटा टहरा हाल्न पाएको स्थिति छैन । दैनिक जनजीवन पूर्ण सङ्घर्षमय छ । साँझ भयो, जङ्गली जनावरले घरपालुवा भेडाबाख्राहरू खाइदिने डर । अझ साँझको समय आवतजावत गर्नु पनि त्यत्तिकै कष्टकर । पटक–पटक चित्तलसँग ठोक्किएर भएको दुर्घटना र बर्सेनि भएको मृत्यु अत्यन्त कहालीलाग्दो छ ।’

मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयको दैनिक जनजीवन वन्यजन्तुको जोखिमका कारण कष्टकर बनेको उनले बताए । साँझको समयमा आवतजावत गर्नसमेत समस्या हुने तथा वन्यजन्तुका कारण घरपालुवा पशुचौपायामा क्षति पुग्ने गरेको उनले बताए ।

सांसद थेबेले चित्तललगायत वन्यजन्तुसँग ठोक्किएर हुने सवारी दुर्घटना तथा त्यसबाट हुने मानवीय क्षतिको समस्या पनि गम्भीर रहेको उल्लेख गरे ।

उनले मध्यवर्ती क्षेत्रका कारण स्थानीय बासिन्दालाई दैनिक जीवन सञ्चालन गर्न मात्र नभई विकास निर्माण तथा प्राकृतिक स्रोतको उपयोग गर्नसमेत कठिनाइ भइरहेको बताए ।

स्थानीय बासिन्दाले समस्या समाधानका लागि पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आए पनि ठोस पहल हुन नसकेको सांसद थेबेले बताए । यो विषय अघिल्लो प्रतिनिधिसभामा समेत पटक–पटक उठाइएको उनले उल्लेख गरे ।

हेटौंडा र मनहरी गाउँपालिकाका बासिन्दाले भोग्दै आएको समस्या समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग गर्दै उनले मध्यवर्ती क्षेत्र हटाउने स्थानीयको मागबारे समेत सरकारको ध्यानाकर्षण गराए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं