Lite Nepal

शनिबार, आश्विन १७, २०८३

काठमाडौं । हवाई उडानका क्रममा उच्छृङ्खल गतिविधि गर्ने तथा चालक दलको निर्देशन अवज्ञा गर्ने यात्रुलाई नियन्त्रणमा लिन पाइलटलाई विशेष अधिकार दिने व्यवस्था सरकारले प्रस्ताव गरेको छ।

सङ्घीय संसद्मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ मा उडान सुरक्षालाई थप सुदृढ बनाउन यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।

विधेयकको दफा १७ मा वायुयानको उडान तथा हवाई सुरक्षासम्बन्धी विभिन्न व्यवस्था गरिएको छ। दफा १७ को उपदफा (४) अनुसार, उडानका क्रममा वायुयानभित्र कुनै व्यक्तिले शान्ति, व्यवस्था वा अनुशासनमा खलल पुर्‍याउन सक्ने कार्य गरेको वा गर्न लागेको विश्वास गर्ने आधार भएमा पाइलटले त्यस्तो व्यक्तिलाई तत्काल नियन्त्रणमा लिन सक्नेछन्।

त्यसैगरी, उडानका क्रममा कुनै यात्रुले प्रचलित कानुनबमोजिम फौजदारी कसुर हुने कार्य गरेमा वा गर्न लागेको अवस्थामा पाइलटले उपयुक्त विमानस्थलमा वायुयान अवतरण गराई सम्बन्धित यात्रुलाई वायुयानबाट ओराल्न सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

विधेयकले वायुयानभित्र यात्रुले पालना गर्नुपर्ने अनुशासनलाई समेत बाध्यकारी बनाएको छ। दफा १७ को उपदफा (३) मा वायुयानमा रहेका यात्रुले चालक दलका सदस्यले दिएको निर्देशन अनिवार्य रूपमा पालना गर्नुपर्ने उल्लेख छ।

त्यस्तै, कुनै पनि व्यक्तिले वायुयान, अन्य यात्रु वा चालक दलका सदस्यलाई अवरोध वा खतरा पुग्ने कुनै किसिमको कार्य गर्न वा गराउन नपाउने व्यवस्था गरिएको छ।

निर्देशन अवज्ञा गर्दै वायुयान, यात्रु वा चालक दलका सदस्यलाई अवरोध वा खतरा पुग्ने कार्य गर्ने यात्रुलाई आर्थिक कारबाहीको दायरामा ल्याउने प्रस्ताव गरिएको छ। विधेयकको दफा ४७ को खण्ड (घ)  ले यस्तो कार्यलाई ऐनबमोजिमको कसुरका रूपमा परिभाषित गरेको छ।

यस्तो कसुर गर्ने व्यक्तिलाई दफा ४८ को खण्ड (ग) बमोजिम नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

यस्तै, एकपटक सजाय पाइसकेको व्यक्तिले पुनः सोही प्रकृतिको कसुर दोहोर्‍याएमा दोब्बर सजाय हुने प्रावधानसमेत विधेयकमा प्रस्ताव गरिएको छ।  प्रस्तावित व्यवस्थाले उडानका क्रममा हुने अनुशासनहीन तथा जोखिमपूर्ण गतिविधि नियन्त्रण गरी यात्रु, चालक दल र वायुयानको सुरक्षालाई थप मजबुत बनाउने सरकारको उद्देश्य रहेको देखिन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं