जनकपुरधाम । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका मधेश प्रदेशसभा सदस्य अभिराम शर्माको निलम्बन फुकुवा भएको छ। मधेश प्रदेशसभा सचिवालयले असोज २६ गतेदेखि लागू हुने गरी उनको निलम्बन फुकुवा गरिएको सूचना जारी गरेको हो।
तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित शर्मा हाल जनता समाजवादी पार्टी (जसपा) नेपालमा आबद्ध छन्। उनलाई मधेश प्रदेशसभाले २०८१ वैशाख १८ गते निलम्बन गरेको थियो।

उच्च अदालत हुँदै सर्वोच्च अदालत पुगेका शर्मा साधारण तारेखमा रिहा भएपछि प्रदेशसभाले उनको निलम्बन फुकुवा गरेको हो।

प्रदेशसभा सचिव बासुप्रसाद कोइरालाद्वारा जारी सूचनामा सर्वोच्च अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ को उपदफा ९२० बमोजिमको सुविधाका आधारमा शर्मालाई २०८३ मंसिर २३ गते साधारण तारेख दिएको उल्लेख छ।
मधेश प्रदेशसभा नियमावली, २०८२ को नियम २१९ को उपनियम ९५० बमोजिम सभामुखले २०८३ असोज २६ गतेदेखि लागू हुने गरी शर्माको निलम्बन फुकुवा गरेको सूचनामा जनाइएको छ।