ताप्लेजुङ । चाडपर्व सुरु भएसँगै ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारका मासु तथा माछा पसलमा अनुगमन गरिएको छ ।
उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय माछा–मासु उपलब्ध गराउने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अगुवाइमा संयुक्त बजार अनुगमन गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका संयोजक यादव भट्टराईको नेतृत्वमा बजार क्षेत्रका १४ वटा मासु पसलको अनुगमन तथा निरीक्षण गरिएको हो ।

अनुगमनका क्रममा दुई वटा पसल दर्ता नगरी सञ्चालन भइरहेको पाइएकाले तिनलाई आवश्यक दर्ता प्रक्रिया पूरा गर्न सात दिनको समय दिइएको छ ।
अनुगमन गरिएका १४ वटा पसलमध्ये दुई वटामा सरसफाइको अवस्था राम्रो रहेको पाइएको छ । बाँकी १२ वटाको सरसफाइको अवस्था मध्यम तथा कमजोर रहेको छ । सरसफाइमा देखिएका कमजोरी सुधार गरी पसल व्यवस्थित बनाउन व्यवसायीलाई निर्देशन दिइएको छ ।
केही पसलले खुला स्थानमा मासु तथा माछा बिक्री गर्ने गरेको तथा अन्य सामान राखेर बिक्री गर्ने गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए।
उनका अनुसार खाद्यवस्तुको स्वच्छता कायम राख्न र उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन व्यवसायीलाई निर्धारित मापदण्डअनुसार पसल सञ्चालन गर्न निर्देशन दिइएको छ ।
अनुगमन समितिले पसलको सरसफाइ, खाद्यवस्तुको स्वच्छता र व्यवसाय दर्तासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न व्यवसायीलाई सचेत गराएको छ ।
दसैँ तथा चाडपर्वका समयमा मासु र माछाको खपत उल्लेख्य बढ्ने भएकाले उपभोक्ताले स्वच्छ र गुणस्तरीय खाद्यवस्तु उपभोग गर्न पाउने वातावरण सुनिश्चित गर्न समयसमयमा अनुगमन गर्ने गरिएको र यसलाई निरन्तरता दिइने बताइएको छ ।