Lite Nepal

मंगलबार, आश्विन २७, २०८३

विराटनगर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेशलाई दिएको एकल तथा साझा अधिकार संघीय सरकारले अझै हस्तान्तरण गर्न नसकेको बताएका छन् । संविधान जारी भएको एक दशक बितिसक्दा पनि प्रदेशले आफ्नो अधिकारका लागि पटकपटक आवाज उठाउनुपर्ने अवस्था रहेको उनले बताएका हुन् ।

कोशी प्रदेश सरकारले आयोजना गरेको मुख्यमन्त्री सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशलाई सबल, सक्षम र अधिकारसम्पन्न बनाउन तीन तहका सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वय आवश्यक रहेको बताए। संविधानले निर्दिष्ट गरेका अधिकार कार्यान्वयन नहुँदा प्रदेश सरकारको कामकारबाही प्रभावित भएको उनको भनाइ थियो ।

उनले प्रदेशका अधिकार कार्यान्वयनका विषयमा संघीय सरकारको पटकपटक ध्यानाकर्षण गराउँदा पनि अपेक्षित प्रगति हुन नसकेको उल्लेख गरे। प्रशासनिक अधिकार संविधानको मर्मअनुसार हस्तान्तरण हुन नसकेको भन्दै उनले प्रदेश प्रहरी प्रदेश सरकार मातहत हुनुपर्नेमा जोड दिए।

प्रहरी ऐन नबन्दा प्रहरी प्रशासनसम्बन्धी जिम्मेवारी प्रदेशलाई हस्तान्तरण हुन नसकेको उनले बताए। प्रदेशको प्रशासनिक संयन्त्रलाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन पनि आवश्यक रहेको उनको भनाइ थियो ।

संसद्मा प्रस्तुत निजामती सेवा ऐनको प्रस्तावनाले कर्मचारीमा त्रास सिर्जना गर्ने र मनोबल कमजोर बनाउने अवस्था रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले प्रशासनिक संयन्त्र कमजोर हुँदा अराजकता बढ्न सक्ने बताए। प्रशासनिक संरचनालाई बलियो नबनाएसम्म प्रदेश सरकारबाट अपेक्षित सेवा प्रवाह गर्न कठिन हुने उनको भनाइ थियो ।

मुख्यमन्त्री आचार्यले वित्तीय हस्तान्तरणको विषय पनि प्रदेशहरूले निरन्तर उठाउँदै आएको बताए। संविधानले दिएको अधिकारअनुसार वित्तीय स्रोत हस्तान्तरण नहुँदा प्रदेश सरकार सञ्चालनमा समस्या भइरहेको उनले उल्लेख गरे। आवश्यक कानुन संशोधन तथा निर्माण हुन नसक्दा प्रदेशको आर्थिक र प्रशासनिक विकासमा समेत बाधा पुगेको उनको भनाइ थियो ।

शिक्षा ऐन समयमै नआउँदा प्रदेशले आफ्नो शैक्षिक अधिकारसमेत प्रभावकारी रूपमा प्रयोग गर्न नसकेको उनले बताए। प्रदेश सरकारबाट नागरिकले धेरै अपेक्षा गरे पनि एउटा विद्यालय समायोजन गर्नेसम्मको अधिकार प्रदेशसँग नहुनु विडम्बनापूर्ण अवस्था रहेको उनले उल्लेख गरे ।

मुख्यमन्त्री आचार्यले यसअघिका बैठक तथा छलफलबाट प्राप्त निष्कर्ष कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्न पनि सम्मेलन महत्त्वपूर्ण हुने बताए। प्रदेशलाई बलियो, सबल र सक्षम बनाउन संघीय सरकारसँगको समन्वय तथा सहकार्यमा भइरहेका प्रयास र देखिएका समस्याबारे सम्मेलनमा विस्तृत छलफल हुने उनको भनाइ थियो ।

उनले सम्मेलनबाट प्राप्त हुने निष्कर्षले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई बलियो बनाउनुका साथै नागरिकको जीविकोपार्जन सुधार गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रदेशका साझा समस्या पहिचान गरी समाधानका लागि ठोस निष्कर्ष निकाल्न सम्मेलन सफल हुने उनले अपेक्षा गरे ।

मुख्यमन्त्री आचार्यले यसअघि पनि प्रदेशका अधिकार कार्यान्वयनका विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउने काम भएको उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं