Lite Nepal

शुक्रबार, आश्विन ३०, २०८३

काठमाडौं । नेपालीको महान् पर्व बडादशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।

दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किनेक्रम बढेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले दशैं मनाउनका लागि घटस्थापनादेखि आज बिहानसम्म तीन लाख ४८ हजार ३१४ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए ।

उनका अनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९ र असोज २९ गते ८५ हजार ५६१ यात्रु काठमाडौंबाट बाहिरिएका छन् ।

काठमाडौंबाट दशैं मनाउनका लागि फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै यात्रु बाहिरिएका हुन् ।

दशैंका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या परेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले सडक बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भइरहेको बताए ।

“दशैंको समयमा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुन्न तथा काठमाडौं आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको छ”, उनले भने ।

यही असोज २३ गते अग्रीम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भाँसिदा सवारीसाधन आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौंमा रोकिँदा समस्या भएको थियो ।

यस्तै, हालसम्म एक लाख ५३ हजार ७३२ यात्रुले दशैंका लागि अग्रिम टिकट बुकिङ लिएका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७ र असोज २७ गते १५ हजार ५५३, असोज २८ गते १८ हजार ५२९ र असोज २९ गते पाँच हजार ७४ यात्रुले अग्रीम टिकट बुकिङ गरेका छन् ।

महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ ।

दशैंले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस चाडपर्व मनाउन घर फर्किनेक्रम हरेक वर्ष बढ्ने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं