Lite Nepal

शनिबार, कार्तिक ०१, २०८३

काठमाडौं । यस वर्षको दशैं अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका मौसमविद् डेभिड ढकालले दशैं अवधिमा देशका अधिकांश स्थानमा मौसम अनुकूल रहने देखिए पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताए ।

उनका अनुसार फूलपाती अर्थात् असोज ३१ गते देशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा अन्य प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने सम्भावना छ । मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा पनि आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

फूलपातीका दिन देशका हिमाली भू–भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुनसक्ने विभागको पूर्वानुमान छ ।

यस्तै, रातिको समयमा देशका हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने विभागले जनाएको छ ।

अष्टमी अर्थात् कात्तिक १ गते पनि देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने सम्भावना छ । मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

अष्टमीका दिन पनि देशका हिमाली भू–भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।

रातीको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने पूर्वानुमान छ ।

कात्तिक २, ३ र ४ गते अर्थात् नवमी र दशमीसम्म पनि देशका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहने देखिएको छ । यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने सम्भावना छ ।

यी दिनमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने विभागको पूर्वानुमान छ ।

समग्रमा यस वर्षको दशैंमा अधिकांश स्थानको मौसम सामान्यतया अनुकूल रहने देखिए पनि पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले सम्भावित वर्षा र हिमपातलाई ध्यान दिनुपर्ने देखिन्छ ।

तराईका केही स्थानमा बिहानपख लाग्न सक्ने हुस्सु तथा कुहिरोले पनि जनजीवन र यात्रामा प्रभाव पार्नसक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना हेरेर यात्रा गर्न उपयुक्त हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं