काठमाडौं । सुडानमा पछिल्ला दिनहरूमा भएका शृंखलाबद्ध ड्रोन आक्रमणमा १६० भन्दा बढी मानिसको मृत्यु भएको चिकित्साकर्मी र मानव अधिकारवादी समूहहरूले जनाएका छन् ।
नागरिकमाथि हुने हिंसाको अनुगमन गर्दै आएको समूह ‘इमरजेन्सी लयर्स’का अनुसार, सोमबार राजधानी खार्तुममा भएको ड्रोन आक्रमणमा तीन बालबालिकाको मृत्यु भएको थियो । गत शुक्रबारयता देशका पश्चिमी क्षेत्रमा भएका आक्रमणमा १६० भन्दा बढी मानिस मारिएको समूहले जनाएको छ ।

यी आक्रमणमा सरकारी सेना र अर्धसैनिक बल ‘र्यापिड सपोर्ट फोर्सेस’ (आरएसएफ) दुवैलाई जिम्मेवार ठहराइएको छ । पछिल्ला महिनाहरूमा दुवै पक्षले ड्रोनको प्रयोग बढाएपछि सर्वसाधारणको हताहती पनि बढेको छ ।

पछिल्लो समयको सबैभन्दा घातक आक्रमण आइतबार साँझ आरएसएफको नियन्त्रणमा रहेको दक्षिणपश्चिमी वेस्ट कोर्डोफान राज्यको अल–दिबाब सहरस्थित बजारनजिक भएको थियो ।
स्थानीय बासिन्दा र स्वास्थ्यकर्मीका अनुसार, घर फर्कन सवारीसाधन पर्खिरहेका ग्रामीण बासिन्दाको भीडलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा घटनास्थलमै ८० जनाको मृत्यु भएको थियो ।
समाचार संस्था एएफपीका अनुसार, घाइते ४७ जनालाई नजिकैको अल–मुजलाद सहर लगिएकोमा उपचारका क्रममा थप ३० जनाको मृत्यु भएको बताइएको छ । आरएसएफल भने उक्त आक्रमणका लागि सुडानी सरकारी सेनालाई जिम्मेवार ठहराएका छन् ।
सुडानमा सन् २०२३ अप्रिलमा सेना प्रमुख अब्देल फत्ताह अल–बुरहान र आरएसएफका नेता मोहम्मद हमदान डागालोबीच विवाद चर्किएपछि गृहयुद्ध सुरु भएको थियो । अर्धसैनिक बललाई राष्ट्रिय सेनामा समाहित गर्ने योजनालाई लिएर उत्पन्न मतभेदले सशस्त्र द्वन्द्वको रूप लिएको थियो ।
चौथो वर्षमा प्रवेश गरेको यो युद्ध अझै रोकिएको छैन । हालसम्म कम्तीमा ५९ हजार मानिसको मृत्यु भइसकेको छ ।