Lite Nepal

मंगलबार, कार्तिक ०४, २०८३

सुनसरी । धरान उपमहानगरपालिका-१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ ।

बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले बलि चढाएर दुर्गा भवानीको विशेष पूजाआराधना गरिने भएकाले बिहानैदेखि भक्तजनको भीड लागेको हो ।

मन्दिरका पुजारी डम्बर आलेमगरका अनुसार यहाँ मनोकामना पूरा होस् भन्ने कामनासहित पूजा गर्ने र भाकल पूरा भएपछि कुखुराको भाले चढाउने परम्परा छ । भक्तजनले सुख, शान्ति, समृद्धि र मनोकामना पूरा हुने विश्वासका साथ पूजाआराधना गरिरहेका छन् ।

यहाँ पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको सिक्किम र दार्जिलिङ तथा भुटानबाट समेत दर्शनार्थी आउने गरेका छन् ।

तरहराकी निर्मला बस्नेतले दसैँका अवसरमा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै बुढासुब्बा मन्दिरमा पूजा गर्न आएको बताइन् । मनोकामना पूरा हुने विश्वासका साथ आफू हरेक वर्ष भाकलअनुसार भाले चढाउन आउने गरेको उनले जानकारी दिइन् ।

बुढासुब्बा मन्दिरमा करिब ३० वर्षदेखि व्यापार गर्दै आएका एमडी जम्मेलले बडादसैँ सुरु भएसँगै पूजाआराधना गर्न आउने भक्तजनको सङ्ख्या बढ्ने गरेको बताए । महानवमीका दिन बिहानैदेखि भक्तजनको चहलपहल बढेकाले व्यापार पनि बढेकामा उनी दङ्ग छन् । उनले मन्दिर परिसरमा पूजाका सामग्रीसँगै बालबालिकाका लागि विभिन्न किसिमका खेलौना पनि बिक्री गर्दै आएका छन् ।

एक दशकअघिसम्म बुढासुब्बा मन्दिर परिसरका बाँसमा नाम लेख्दा प्रेम अमर हुन्छ भन्ने विश्वासका साथ नाम लेख्ने चलन थियो । समयक्रममा बाँस मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले बाँस वरिपरि तारजाली लगाएको छ । त्यसपछि बाँसमा नाम लेख्ने चलन घट्दै गएको र बाँसमा माला बाँध्ने क्रम बढेको छ ।

बुढासुब्बा मन्दिरमा भक्तजनले कुखुराको भाले, अण्डा र फलफूल चढाएर पूजाआराधना गर्ने गर्छन् । भाकल पूरा गर्न भाले चढाउने र नजिकै रहेको गौरिनी मातालाई पोथी कुखुरा चढाउने परम्परा पनि छ । पोथी उपलब्ध नभए अण्डा चढाइन्छ ।

विजयपुरमा नै प्रसिद्ध शक्तिपीठ दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर र पञ्चकन्यालगायत मन्दिर छन् । बडादसैँका अवसरमा दन्तकालीमा भक्तजनको बढी चहलपहल हुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं