झापा । झापाको बिर्तामोड नगरपालिका– २, रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।
आगलागीमा परेर क्यान्टिनमा काम गर्ने ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ४ बजेर १० मिनेटमा ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित बडी ग्यारेजको क्यान्टिनमा आगलागी भएको थियो ।

उक्त ग्यारेज बिर्तामोड नगरपालिका– ४ निवासी रवि राजवंशीले सञ्चालन गर्दै आएका थिए ।
आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
दमकल तथा स्थानीयवासीको सहयोगमा बिहान करिब ४ बजेर ३० मिनेटमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीमा परेर मृत्यु भएका तामाङ झापाको गौरीगञ्ज गाउँपालिका– २ निवासी रहेको जनाइएको छ ।
आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा तथा नगद एक लाख रुपैयाँ जलेर नष्ट भएका छन् ।
प्रारम्भिक विवरणअनुसार क्यान्टिनमा मात्रै करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।