काठमाडौं । पाकिस्तानका टी–२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न काठमाडौं आइपुगेका छन्। उनले कर्णाली याक्सबाट प्रतियोगिता खेल्नेछन्।
३० वर्षीय फरहानले पाकिस्तानका लागि ५१ टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई शतक र १३ अर्धशतकसहित १ हजार ५५४ रन बनाएका छन्। समग्र टी–२० क्रिकेटमा उनले नौ शतक र ३८ अर्धशतकसहित ५ हजार ७७५ रन बनाएका छन्।

सन् २०२५ को पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेडबाट १२ खेलमा ४४९ रन बनाएपछि उनी राष्ट्रिय टी–२० टोलीमा पुनरागमन गरेका थिए। त्यसपछि बंगलादेश र वेस्ट इन्डिजविरुद्ध पनि उनले उत्कृष्ट प्रदर्शन गरे।

घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव बोकेका फरहानको आगमनले कर्णाली याक्सको ब्याटिङ बलियो हुने अपेक्षा गरिएको छ। एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।