काठमाडौं । गत १० भदौमा आएको रसुवा–भोटेकोशी बाढीबाट सर्वसाधारणको निजी सम्पत्तिमा ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोगको विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) अन्तर्गत गरिएको घरधुरी सर्वेक्षणअनुसार घरपरिवारको सम्पत्तिमा ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानको सम्पत्तिमा ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ स्थानीय तहका ६ हजार ८१७ घरपरिवार र १ हजार ६३८ व्यवसाय प्रभावित भएका छन्। कुल ३२ हजार ८७२ जना प्रत्यक्ष प्रभावित भएको आयोगले जनाएको छ। जिल्लागत रूपमा नुवाकोट सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ १७ हजार ९५४ जना प्रभावित भएका छन्। रसुवामा ९ हजार ६७६, धादिङमा ४ हजार ५८४ र गोरखामा ६५८ जना प्रभावित भएका छन्।

आर्थिक मूल्यका आधारमा सबैभन्दा ठूलो क्षति जग्गाजमिनमा पुगेको छ। ३ हजार ६१० परिवारको ५०८ हेक्टर जमिनमा क्षति हुँदा करिब ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान छ। बाढीबाट ४ हजार १५१ भवन संरचनामा क्षति पुगेको छ। तीमध्ये २ हजार ९८९ संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ३ हजार १०४ संरचना पुनः प्रयोग गर्न नसकिने अवस्थामा रहेको आयोगले जनाएको छ।

यसैगरी, घरायसी सामान, सवारीसाधन, बाली, खाद्यान्न तथा पशुपन्छीमा पनि ठूलो क्षति पुगेको छ। घरपरिवारले पालेका ६६४ ठूला र ४ हजार ६०१ साना पशु, ६३ हजार ६३३ पन्छी तथा २४ हजार ५०८ किलो माछा नष्ट भएका छन्।
व्यवसायतर्फ सबैभन्दा बढी थोक तथा खुद्रा व्यापार प्रभावित भएको छ। कुल प्रभावित व्यवसायमध्ये ७७४ वटा यस क्षेत्रका छन्। व्यवसायीका ४०३ सवारीसाधनमा मात्रै ९४ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
आयोगले विभिन्न सरकारी निकायका १५६ प्राविधिक तथा प्रशासनिक जनशक्ति परिचालन गरी प्रभावित क्षेत्रमा तथ्यांक संकलन गरेको हो। संकलित तथ्यांकको विश्लेषणपछि क्षतिको विस्तृत विवरण, पुनर्निर्माण योजना र आवश्यक वित्तीय स्रोतसहितको पीडीएनए प्रतिवेदन तयार गरिने आयोगले जनाएको छ। सडक, जलविद्युत्लगायत पूर्वाधार, सामाजिक तथा वातावरणीय क्षेत्रमा भएको क्षति भने उक्त प्रारम्भिक अनुमानमा समावेश छैन।