Lite Nepal

बिहिबार, कार्तिक १२, २०८३

कास्की । कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय व्यतीत गरिरहेका कैदी भागेको घटनाले त्यहाँको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको छ ।

गएको असोज ३१ गते राति २ः०० बजेतिर पोखरा महानगरपालिका–१८, खपौदीका ३७ वर्षीय कैदी सन्तोष जलारी बिजुली मर्मतका निम्ति कारागारमा लगिएको भर्‍याङ चढेर भागेका थिए । कारागारबाट फरार जलारीलाई प्रहरीले कात्तिक ३ गते पोखराकै एक होटेलबाट पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं एसपी नवीन कार्कीले कैदी जलारी योजनाबद्ध रूपमा भागेको बताए । “बिजुली मर्मतका लागि राखिएको भर्‍याङ चढेर भागेको पाइएको छ, एक महिनादेखि कारागारबाट भाग्ने योजना बनाएको अनुसन्धानका क्रममा जलारीले बताएका छन्,” उनले भने ।

जलारीले कारागारभित्र पसल समेत चलाएर बस्ने गरेको उनले बताए । कारागारको सुरक्षार्थ खटिएको प्रहरी र कैदीका नाइकेको पर्याप्त ध्यान नपुग्दा जलारी भाग्न सफल भएको उनको भनाइ छ ।

“भोलि पनि बिजुली मर्मत गर्नुपर्छ भनेर उनले भर्‍याङ आफ्नै पसल भएको ठाउँमा राखेको र मध्यरातमा भागेको पाइएको छ,” एसपी कार्कीले भने, “उनले नाइके र अरू कैदीलाई पनि झुक्क्याएर भागेको देखिन्छ ।”

कारागारबाट यसरी कैदी भागेका घटना विरलै हुने गरेको उनले बताए । कारागारको सुरक्षा संवेदनशीलतामा विशेष रूपले ध्यान यस घटनाले सम्बद्ध पक्षलाई झकझक्याएको उनले उल्लेख गरे ।

कारागारका जेलर घनश्याम गौतमले भोलिपल्ट बिहान मात्र कैदी गणनाका क्रममा जलारी भागेको थाहा भएको बताए । कैदी भागेको घटनापछि कारागारको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न र चासो व्यक्त हुनु स्वाभाविक भएको उनको भनाइ छ ।

भागेका कैदी जलारीलाई प्रहरीको सक्रियतामा दुई दिनमै नियन्त्रणमा लिइएको जेलर गौतमले बताए । गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले जलारीलाई पक्राउ गरेको थियो । उनीमाथि कारागार ऐनसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी कार्कीले बताए ।

“ज्यान र डाँका मुद्दामा २५ वर्ष कैद सजाय पहिलेकै छ, पछिल्लो मुद्दामा थप पाँच वर्ष जेल सजाय हुन सक्छ,” उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं