Lite Nepal

शुक्रबार, कार्तिक १३, २०८३

जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सो विशेष रेल सेवाको उद्घाटन गर्नेगरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए ।

“प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी हामी तयारीमा जुटेका छौँ”, प्रबन्ध सञ्चालक पराजुलीले भने, “यस विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ ।”

उद्घाटनको मिति तय नभए पनि प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा रेल सेवा उद्घाटन गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री शाहले मङ्सिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी छ ।

जनकपुरधामबाट अयोध्यासम्म रामायण सर्किटअन्तर्गत विशेष रेल सेवा सञ्चालन गर्न आवश्यक पूर्वतयारीका विषयमा छलफल भइरहेको प्रबन्ध सञ्चालक पराजुलीले बताए। नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय तथा भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु र रेल सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ ।

केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण गरेका थिए ।

जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन थप सहज हुने विश्वास गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले बताए।

विशेष रेल सेवा सञ्चालनले नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक गन्तव्यबीचको पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने छ । हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं