सुर्खेत । डोल्पाको शे–फोक्सुन्डो तालतर्फ आउँदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन भएका छन्।
डोल्पो बुद्ध गाउँपालिकाबाट धो हुँदै फोक्सुन्डो ताल फर्किने क्रममा शे–फोक्सुन्डो गाउँपालिका–४ र ८ बीचका नुमला पास र वागला पास क्षेत्रमा उनीहरू सम्पर्कविहीन भएका हुन्।

प्रतिकूल मौसमका कारण पर्यटकहरू हिउँमा फसेको हुन सक्ने आशंका गरिएको छ।

उनीहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरिएको छ भने नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिएकी छन्।
अत्यधिक हिमपात र सञ्चार सम्पर्क नहुने समस्याका कारण उनीहरूको अवस्थाबारे यकिन हुन सकेको छैन।
जिल्ला प्रशासन कार्यालयका अनुसार हाल उपल्लो डोल्पामा २४४ जना पर्यटक रहेका छन्। प्रशासनले सबै पर्यटकलाई जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।