Lite Nepal

आइतबार, कार्तिक १५, २०८३

काठमाडाैं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो दोस्रो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको रोमाञ्चक खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै जनकपुरले महत्त्वपूर्ण २ अंक जोडेको हो।

जनकपुरले प्रस्तुत गरेको १४८ रनको विजयी लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रनमा समेटियो। जारी प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको पोखरा अझै पहिलो जितको खोजीमै छ।

पोखराका लागि कप्तान कुशल भुर्तेलले २४ बल खेल्दै ५ चौकाको मद्दतमा सर्वाधिक ३५ रन बनाए।

त्यस्तै तल्लो क्रममा विपिन आचार्यले २०, विपिन खत्रीले अविजित १७ र किरण ठगुन्नाले १५ रन जोडे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। टोलीका प्रमुख खेलाडी शाकिब अल हसन ९ रनमै पभेलियन फर्किएका थिए।

पोखराको इनिङ्स रोक्न जनकपुरका अनुभवी अलराउन्डर मोइन अलीले घातक बलिङ गरे। उनले ४ ओभरमा १ मेडनसहित मात्र १३ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए। कप्तान हरमित सिंह र सैफ हसनले २-२ विकेट हात पारे भने ललित राजवंशी र जेम्स निसमले १-१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रनको योगफल तयार पारेको थियो। जनकपुरका लागि प्रारम्भिक ब्याटर त्रित राज दासले ५५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिएका थिए।

त्यस्तै अन्तिम ओभरहरूमा अभिषेक तिवारीले १० बलमा अविजित २४ रन तथा ओपनर मोइन अलीले २१ रन बनाएका थिए। पोखराका लागि शाकिब अल हसनले ४ ओभरमा १५ रन दिएर ३ विकेट तथा चमिका करुणारत्नेले २ विकेट लिएका थिए।

यो जितसँगै ३ खेलबाट २ जित हात पारेको जनकपुरले अङ्क तालिकामा आफ्नो स्थिति बलियो बनाएको छ भने २ खेल खेलेको पोखरा अङ्कविहीन छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं