विराटनगर । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २५औँ पटक सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
इलामको नारायणस्थान मन्दिर परिसरमा सत्याग्रहमा बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा उपचारका क्रममा स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार काठमाडौं ल्याइएको हो।

इलाम अस्पतालका प्रमुख डा. अमिताभ ठाकुरको नेतृत्वमा रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले पत्रकार सम्मेलन गरी केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको जानकारी दिएको थियो। टोलीका अनुसार डा. गोविन्द केसीको मुटुको धड्कनमा समस्या देखिनुका साथै रगतमा ग्लुकोजको मात्रा घट्दै गएको थियो।

स्वास्थ्य अवस्था थप बिग्रिएपछि तत्काल हेलिकप्टरमार्फत उद्धारको व्यवस्था मिलाउन इलाम अस्पतालले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो। उद्धारपछि डा. केसीलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ। त्यहाँ उनको थप उपचार गरिने जनाइएको छ।