काठमाडौं । आन्द्रे रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ। १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो।
विराटनगरका लागि रसेलले अविजित ५२ रन बनाउनुका साथै बलिङमा ४ विकेट लिए। जनकपुरका सेफ हसनले ७१, विशाल सुशीलिङले ४३ र जिमी निशमले २९ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। अन्तिम बलमा रसेलले हसनलाई आउट गर्दै विराटनगरको जित पक्का गरे।

यसअघि विराटनगरले इमरान शेखको ५६, लोकेश बमको ५० र रसेलको ५२ रनको मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो। योसँगै एनपीएल इतिहासमा एउटै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक बनाएको पहिलो पटक बनेको छ।

जितसँगै विराटनगरले चार खेलबाट ४ अंक जोडेको छ। जनकपुरको पनि समान ४ अंक छ।