विराटनगर। अर्काको जग्गा भाडामा लिएर फूल खेती, अर्कै व्यक्तिको नाममा दर्ता भएको फर्ममार्फत व्यवसाय सञ्चालन। विराटनगरका फूल कृषक रञ्जित बेराको व्यवसायिक अभ्यास यस्तै छ। तर, भारतबाट अवैध रूपमा भित्र्याइएको भन्दै मोरङमा सयपत्री फूल बरामद गर्ने क्रममा उनले कोल्ड स्टोरमा राखेको आफ्नै उत्पादनसमेत प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको दाबी गरेका छन्। करिब दुईदेखि तीन लाख रुपैयाँ बराबरको फूल गुमाएको उनको गुनासो छ।
केही दिनअघि सशस्त्र प्रहरी बलको टोलीले विराटनगर र बुढीगङ्गा गाउँपालिकाका विभिन्न स्थानबाट करिब २५ लाख रुपैयाँ बराबरको सयपत्री फूल बरामद गरेको थियो। बुढीगङ्गा गाउँपालिका–२, टंकीसिनुवारीस्थित ग्लोबल कोल्ड स्टोर र विराटनगरस्थित राधाकृष्ण कोल्ड स्टोरबाट बिलबिजकबिना भण्डारणका लागि राखिएको अवस्थामा फूल बरामद गरिएको थियो। उक्त फूल भारतबाट अवैध रूपमा भित्र्याइएको प्रहरीको भनाइ छ।

भारतबाट आउने फूलले नेपाली बजार ओगट्दा स्थानीय कृषकको उत्पादनले उचित मूल्य र बजार पाउन नसकेको गुनासो रहँदै आएको छ। स्वदेशी फूल उत्पादन गर्ने कृषकले बजारको समस्या भोगिरहेका बेला आफ्नै उत्पादनसमेत प्रहरीको नियन्त्रणमा परेको भन्दै बेराले असन्तुष्टि व्यक्त गरेका हुन्।

विराटनगर महानगरपालिका–७ मा विगत चार वर्षदेखि फूल खेती गर्दै आएका बेराले अर्काको जग्गा भाडामा लिएर सयपत्रीलगायत विभिन्न प्रजातिका फूल उत्पादन गर्दै आएका छन्। उनका अनुसार चक्रवातका कारण आएको वर्षा र हावाहुरीले बारीमै फूल बिग्रन सक्ने जोखिम बढेपछि उनले कोल्ड स्टोर भाडामा लिएर आफ्नै उत्पादन भण्डारण गरेका थिए।
तर, उक्त फूलसमेत प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको उनको दाबी छ। फूल सुरक्षित राख्न कोल्ड स्टोर प्रयोग गरेको भए पनि आफूले अवैध रूपमा आयात गरिएको फूल भण्डारण नगरेको उनी बताउँछन्। ‘मैले आफ्नै बारीमा उत्पादन गरेको फूल सुरक्षित राख्न कोल्ड स्टोर भाडामा लिएको थिएँ। अवैध थिएन,’बेराले भने।
प्रहरीले नियन्त्रणमा लिएको फूलको खोजीमा आफू सशस्त्र प्रहरी कार्यालयसमेत पुगेको तर आफ्नो उत्पादनबारे कुनै जानकारी पाउन नसकेको उनको भनाइ छ। ‘मेरो सामान खोज्न जाँदा पनि फेला परेन। उनीहरूले नै थाहा छैन भन्ने जवाफ दिए,’उनले बताए।
बेराले विराटनगर–७, धर्मभक्त रोडमा ‘माँ भगवती फ्लावर’ नामबाट फूल तथा फूलमाला व्यवसाय सञ्चालन गर्दै आएका छन्। उपलब्ध व्यवसाय दर्ता प्रमाणपत्रअनुसार उक्त फर्मकी प्रोप्राइटर सुमित्रा भण्डारी हुन्। फर्म २०६३ साल कात्तिक १३ गते विराटनगर महानगरपालिका–७ नम्बर वडा कार्यालयमा दर्ता भएको देखिन्छ।

वडा कार्यालयको मिति २०८३ साल कात्तिक १७ गतेको सिफारिसमा सुमित्रा भण्डारीले विराटनगर–७ मा रहेको अर्का व्यक्तिको जग्गामा फूल खेती गरी ‘माँ भगवती फ्लावर’ नामबाट फूलमाला उत्पादन गर्दै आएको उल्लेख छ। तर, उक्त व्यवसाय र फूल खेतीको काम भने रञ्जित बेराले गर्दै आएको बताइएको छ। यसरी फूल खेतीका लागि अर्काको जग्गा भाडामा लिने र अर्कै व्यक्तिको नाममा दर्ता भएको फर्ममार्फत व्यवसाय सञ्चालन गर्ने अभ्यास विराटनगरमा पनि देखिएको छ।
