विराटनगर । चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, अवैध गतिविधि, विस्फोटक पदार्थको ओसारपसार तथा अन्य आपराधिक क्रियाकलाप नियन्त्रण गर्न कोशी प्रदेश प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।
चाडपर्व सुरक्षा योजनाअनुसार प्रहरीले प्रदेशका विभिन्न स्थानमा सुरक्षा टोली परिचालन गरेको छ। विशेषगरी तिहारलाई लक्षित गर्दै पटका तथा पटकाजन्य विस्फोटक पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोग नियन्त्रण गर्न सीमा नाकामा निगरानी बढाइएको छ।

त्यसैगरी, लागूऔषधको ओसारपसार, अवैध विस्फोटक पदार्थ तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी कुकुरसहितको चेकजाँच टोली विभिन्न स्थानमा परिचालन गरिएको छ। प्रहरीले सवारीसाधन, शंकास्पद सामग्री तथा आवतजावत गर्ने शंकास्पद व्यक्तिमाथि निगरानी र चेकजाँचलाई थप कडा बनाएको जनाएको छ।

चेकजाँचका क्रममा प्रहरीले विभिन्न स्थानबाट अवैध रूपमा भित्र्याइएका करिब १० लाख ७ हजार रुपैयाँभन्दा बढी मूल्यका पटकाजन्य विस्फोटक पदार्थ बरामद गरी नष्ट गरेको छ। यसैबीच, चाडपर्वको समयमा आफ्नो घर तथा पसलको सुरक्षामा विशेष ध्यान दिन, अपरिचित व्यक्तिको गतिविधिप्रति सचेत रहन तथा पटका र पटकाजन्य विस्फोटक पदार्थको प्रयोग नगर्न कोशी प्रदेश प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ।
कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीको आपत्कालीन सेवा नम्बर १०० मा जानकारी गराउनसमेत प्रहरीले आग्रह गरेको छ।