मट्टितेल किनेर खेलिने भैलोदेखि स्पिकरमा घन्किने देउसीसम्म : गाउँबाट सहर पसेसँगै हराउँदै पुरानो पुस्ताको तिहार
विराटनगर । तिहार आउनासाथ गाउँका साँघुरा गल्लीहरू उज्यालिन्थे । वारिपारि गाउँकाहरु कहाँकहाँ देउसी भैलो खेल्ने भनेर निम्तो बाँड्ने चलन पनि हुन्थ्यो । घरघरमा मादल र मुरलीका धुन गुन्जिन्थे । आँगन बढारेर देउसी भैलो टोलीको प्रतीक्षा गरिन्थ्यो । कसैको हातमा मादल हुन्थ्यो, कसैले मुरली बजाउँथे त कसैले रामायणका श्लोक र भैलोका गीत भट्याउँथे ।
रात छिप्पिँदै जाँदा पनि गाउँ निदाउँदैनथ्यो । निदाइहाले पनि मादलको ताल, देउसीको गीतसँगै बिउँझिन्थे । त्यो समय देउसी भैलो मात्रै रमाइलो गर्ने माध्यम थिएन, गाउँको सामाजिक सम्बन्ध, सामूहिकता र मौलिक संस्कृतिको जीवन्त उत्सव थियो। तर समय फेरिएको छ । गाउँ फेरिएका छन्, मान्छेका बसाइँ फेरिएका छन् र तिहार मनाउने शैली पनि फेरिएको छ ।

पहिले मट्टितेल किनेर बत्ती बाल्दै गाउँ गाउँ डुल्ने पुस्ता अहिले सहरका घर आँगनमा उभिएर पुराना दिन सम्झिरहेको छ । उनीहरूका स्मृतिमा अझै मादलको ताल छ, मुरलीको धुन छ र भैलिनी आएउ आँगन गुन्यू चोलो मागन भन्दै गुन्जिने मौलिक भाका छ । तर अहिलेको देउसी भैलोमा ती आवाज क्रमशः पातलिँदै गएका छन् ।

मोरङको बुढीगंगा–३ की तीर्थ लिम्बूको स्मृतिमा पनि तिहारका ती दिन अझै ताजै छन्। उनको पुख्र्यौली घर धनकुटाको हात्तिखर्क हो । पहाडबाट तराई झरेपछि पनि तिहारसँग जोडिएका बाल्यकालका सम्झना भने उनीसँगै आएका छन्।
उनी विगतका सम्झना केलाउँदै भन्छिन्,‘त्यति बेला गाउँमा बिजुली थिएन । भैलो खेल्न जानुअघि एक–दुई रुपैयाँ जम्मा गरेर मट्टितेल किनिन्थ्यौ । दिदीबहिनी र फुपूहरू मिलेर भैलो खेल्न निस्कन्थ्यौ ।’ घरनजिकै खेल्दा परिवारले थाहा पाउने डरले अलि टाढाको गाउँसम्म पुग्ने गरेको उनी विगत सुनाउँछिन् ।

तीर्थ लिम्बू
उनका लागि भैलो खेल्नु रमाइलो मात्र थिएन, त्यो समयको सामाजिक बन्देजबाट केही क्षण बाहिर निस्कने अवसर पनि थियो । किनकि त्यति बेला देउसी भैलो खेल्न जाने कुरामा समेत छोराछोरीबिच विभेद थियो । दाजुभाइलाई जहाँ पनि जान छुट हुन्थ्यो, तर छोरीहरूलाई घरबाहिर निस्कन सहज थिएन।
‘दाजुभाइलाई जता पनि जान दिनुहुन्थ्यो । छोरीलाई भने घरबाहिर निस्किनै छुट थिएन,’ उनी भन्छिन् । उनको भनाइमा अहिलेको जस्तो भैलीराम भनेर सजिलै भट्ट्याउने चलन त्यति बेला थिएन । भैलो खेल्न निश्चित विधि र परम्परा पूरा गर्नुपथ्र्यो । गीतबाटै घरधनीलाई सम्बोधन गरिन्थ्यो । ‘भैलिनी आएउ आँगन बढारी कुडारी राखन’ भन्दै गीत गाएर घरधनीसँग स्वागतको आग्रह गरिन्थ्यो। आशीर्वाद दिँदा पनि गीतकै माध्यम प्रयोग हुन्थ्यो ।
त्यो समयमा परम्परा उल्लंघन गर्नु सामान्य कुरा थिएन। विधि नपु¥याई भैलो खेले ठुलाबडाले खेदाउने चलनसमेत रहेको उनी सम्झिन्छिन् । उनी भन्छिन्,‘राति सुतिरहेका मानिसलाई पनि गीत गाएर उठाइन्थ्यो। गाउँमा देउसी भैलोका क्रममा दिदी भाइका कथा सुनाउने चलन थियो । ती कथामा कतिपय यस्ता भावुक प्रसंग हुन्थे, जसले सुन्नेको आँखामा आँसु नै ल्याउँथ्यो ।’
त्यति बेला गाउँमा पसल थिएनन्, देउसी भैलो खेलेर केही पाइन्छ भन्ने निश्चित पनि थिएन। पैसा कमाउने भन्दा पनि रमाइलो गर्ने, भेटघाट गर्ने र परम्परा जोगाउने उद्देश्यले उनीहरू भैलो खेल्न निस्कने गरेको उनी सुनाउँछिन् । तर अहिले उनको नजरमा ती सबै दृश्य बदलिएका छन्। ‘अहिले त्यो चलन हराउँदै गएको छ । प्रविधिसँगै मौलिकता पनि हरायो,’ उनी भन्छिन्।
गाउँ छुट्यो, पर्वको रौनक पनि छुट्यो
४९ वर्षीया इन्द्रकुमारी निरौलाको अनुभव पनि तीर्थ लिम्बूको भन्दा फरक छैन। सोलुबाट तराई झरेपछि उनले गाउँ मात्र छाडिनन्, गाउँसँग जोडिएको पर्वको मौलिकता पनि पछाडि छुटेको अनुभूति गरिन्। गाउँमा तिहार आउँदा छुट्टै रौनक हुन्थ्यो । देउसी भैलोका गीत, घरघरमा हुने जमघट र सामूहिक उत्सवले पर्वलाई विशेष बनाउँथ्यो । तर सहर पसेपछि त्यही उत्सवको स्वरूप फेरिएको उनको अनुभव छ । ‘गाउँमा हुँदा भैलिनी आएउ आँगन गुन्यू चोलो माग्न भन्दै गाउँथ्यौँ । यहाँ त भैलीराम भन्दै गाउँछन्,’ उनी भन्छिन्।

इन्द्रकुमारी निरौला
उनका लागि गाउँ र सहर बिचको फरक भूगोलको दूरी मात्र होइन, संस्कृतिको दूरी पनि हो । गाउँमा पुस्तौँदेखि चल्दै आएका भाका र परम्परा सहरमा आएपछि बिस्तारै हराउँदै गएको उनी महसुस गर्छिन् । उनी भन्छिन्,‘पहिले देउसी भैलोमा गीतको आफ्नै लय हुन्थ्यो । शब्द र भाकामै गाउँको पहिचान झल्किन्थ्यो । घरधनीलाई दिइने आशीर्वाददेखि मनोरञ्जनसम्म सबैमा मौलिकता मिसिएको हुन्थ्यो । अहिले भने ती भाका र शब्दहरू कम सुनिन थालेका छन् ।’
रामायण भट्ट्याउने पुस्ताको सम्झना
मोरङको बुढीगंगा–३ को ८८ वर्षीय टेकबहादुर निरौलाका लागि देउसी भैलो सम्झनु भनेको एउटा पूरै सांस्कृतिक समय सम्झनु हो । खोटाङमा रहँदा देउसीमा रामायण भट्ट्याउने गरेको उनी सम्झन्छन् । हली तिहारदेखि खेलको एकादशीसम्म देउसी भैलो खेल्ने चलन रहेको उनी बताउँछन्।
‘त्यति बेला देउसी खेल्ने टोलीको आफ्नै पहिचान हुन्थ्यो । केटाहरूलाई मारुनी बनाएर नचाइन्थ्यो। मादल र मुरलीको तालमा गीत भट्याइन्थ्यो । उसीभैलोमा स्थानीय भाका र सांस्कृतिक परम्परा एकसाथ मिसिएका हुन्थे ।’ उनी विगत सम्झन्छन् । उनको भनाइमा त्यो समयको समाजमा पनि लैंगिक विभेद थियो ।

टेकबहादुर निरौला
छोरीमान्छेलाई देउसी भैलो खेल्न घरबाट निस्कन दिइँदैनथ्यो । केटाहरू भने राति अबेरसम्म गाउँ डुल्न पाउँथे । ‘त्यो बेला छोरीमान्छे देउसी खेल्न हिँड्दैनथे । बाआमाले घरबाट निस्किन दिँदैनथे । छोरामान्छे छोरीमान्छे बनेर मारुनी भएर विभिन्न ठाउँ पुग्थे, यो हिसाबमा चाहीँ परिवर्तन भएको छ अहिले छोरीमान्छे नि दउसी खेल्छन् ।’ उनी भन्छन्।
समयले समाजको सोच मात्र होइन, देउसीभैलोको शैली पनि बदलेको छ । अहिलेका पुस्ताले गीत गाउने तरिका, भाका र प्रस्तुति फरक बनाएका छन् । पुरानो पुस्ताले दुईवटा शब्द भट्याउँदा अर्को टोलीले गीत गाउने अहिलेको चलन उनलाई निकै फरक लाग्छ ।
टेकबहादुरका अनुसार पहिले देउसी भैलो औँसीको यमपञ्चक सकिएपछि पनि खेलिन्थ्यो । उनी भन्छन्,‘यमपन्चक सकिएपछि देउसीरे नभनी सेउसीरे भन्ने चलन थियो । आशीर्वाद दिने पनि आफ्नै विधि थियो । मुरली र मादलको मौलिक धुनसँगै देउसी भट्याइन्थ्यो ।’ उनका लागि अहिलेको देउसी भैलो गलत होइन, तर पुरानो पुस्ताले जोगाएको सांस्कृतिक स्वाद भने त्यसमा कम हुँदै गएको छ ।
पल्टनमा पनि सेल पकाएर खेलिन्थ्यो देउसी
मोरङको बुढीगंगा–३ का दलबहादुर बस्नेतसँग पनि देउसी भैलोका सम्झनाहरूको लर्को छन् । पहाडमा हुँदा उनी गोठबाट भागेर देउसी खेल्न र हेर्न पुग्थे । बाल्यकालका ती धमिला दृश्य अहिले पनि उनको सम्झनामा सुरक्षित छन्।
वर्षमा एक पटक आउने तिहारले उनलाई विगततिर फर्काउँछ ।
भारतीय सेनामा आबद्ध भएपछि पनि देउसी र तिहारप्रतिको उनको आत्मीयता घटेन, बरु अझ गाढा भयो । पल्टनमा हुँदा सेल पकाएर देउसी खेलेका दिन उनका लागि विशेष छन्। आफ्नो गाउँघरबाट टाढा रहेर पनि तिहारलाई आफ्नै शैलीमा मनाउन पाउँदाको खुसी अहिले पनि उनको स्मृतिमा चित्रझैँ कोरिएको छ ।

दलबहादुर बस्नेत
परदेशमा वा घरबाट टाढा हुँदा पर्वको महत्त्व अझ बढी महसुस हुने उनको अनुभव छ । त्यहाँको देउसी भैलोमा पनि गाउँघरको सम्झना, साथीभाइको आत्मीयता र तिहारको स्वाद मिसिएको थियो । तर अहिलेको देउसी भैलोमा उनलाई पहिलेको जस्तो उत्साह भेटिँदैन ।
‘अहिले पहिलेको जस्तो भट्ट्याउने पनि छैन, रमाइलो पनि छैन,’ उनी भन्छन्। समयले तिहारलाई नयाँ रंग दिएको छ । तर पुरानो पुस्ताको मनमा भने अझै त्यही गाउँको आँगन छ, जहाँ देउसी भैलो सुरु हुनुअघि मादलको ताल मिलाइन्थ्यो, मुरलीको धुन सुनिन्थ्यो र गीतबाटै घरधनीसँग स्वागत मागिन्थ्यो ।