श्रीमतीसहित दुई जना पक्राउ
विराटनगर । मोरङको जहदा गाउँपालिकामा प्रेम सम्बन्धलाई लिएर उत्पन्न विवादका कारण एक पुरुषको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। श्रीमतीको अर्का पुरुषसँग प्रेम सम्बन्ध रहेको विषयलाई लिएर ४० वर्षीय बुधराम सोरेनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको हो।
मोरङको जहदा गाउँपालिका–२ मोहनपुरका सोरेनको आइतबार राति फलामको रड प्रहार गरी हत्या गरिएको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी श्रीमती ३५ वर्षीया कमली बास्के र भारतका २७ वर्षीय सुनील मिश्रलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे कमली र मिश्रले सोरेनको टाउकोमा फलामको रड प्रहार गरेका थिए। रड प्रहारबाट गम्भीर घाइते भएका सोरेनको घटनास्थलमै मृत्यु भएको थियो।

प्रारम्भिक अनुसन्धानमा कमली र मिश्रबीच प्रेम सम्बन्ध रहेको र सोही सम्बन्धका कारण सोरेनको हत्या भएको खुलेको प्रहरी स्रोतले जनाएको छ। घटनापछि प्रहरीले भारतीय नागरिक मिश्रलाई तत्कालै पक्राउ गरेको थियो भने कमली फरार भएकी थिइन्। प्रहरीले खोजी गर्ने क्रममा उनलाई समेत नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।