भोजपुर । आधुनिक जीवनशैली र प्रविधिको विकाससँगै भोजपुरका गाउँघरमा तिहार मनाउने मौलिक परम्परा हराउँदै जान थालेका छन् । पुस्तौँदेखि चल्दै आएका संस्कार, विधि र स्थानीय सामग्रीको प्रयोग घट्दै जाँदा तिहारको सांस्कृतिक मौलिकता कमजोर बन्दै गएको हो ।
स्थानीय वृद्धवृद्धाका अनुसार तिहारका परम्परागत संस्कार केवल पर्व मनाउने विधि मात्र नभई नेपाली समाजको सांस्कृतिक पहिचान र पुस्तौँदेखिको अनुभवसँग जोडिएका छन् । उनीहरूले नयाँ पुस्ताले पुराना परम्पराको महत्त्व बुझेर त्यसलाई संरक्षण र निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

पहिले गाउँघरमा तिहार मनाउँदा स्थानीयस्तरमै उपलब्ध सामग्री प्रयोग गरी विभिन्न परम्परा निभाउने गरिन्थ्यो । विशेषगरी दीपावलीका अवसरमा केराको दाम्चा ९बोक्रा० मा बाती राखेर बत्ती बाल्ने चलन थियो । तर, अहिले आधुनिक बत्ती तथा अन्य सामग्रीको प्रयोग बढेसँगै यस्तो मौलिक अभ्यास हराउँदै गएको टेम्केमैयुङ गाउँपालिका–५ की ७३ वर्षीया मनमाया विष्टले बताइन् ।

उनका अनुसार पहिले केराको दाम्चामा बाती राखेर घरआँगन उज्यालो बनाउने गरिन्थ्यो । स्थानीयस्तरमा उपलब्ध सामग्रीकै प्रयोग गरेर पर्व मनाउने चलन थियो । समयसँगै आधुनिक बत्तीको प्रयोग बढेपछि पुराना परम्परा बिस्तारै ओझेलमा पर्दै गएको उनले बताइन् ।
त्यस्तै, तिहारका अवसरमा गाउँघरमा सामूहिक रूपमा देउसीभैलो खेल्ने, स्थानीय भाका गाउने र परम्परागत सामग्री प्रयोग गर्ने चलनसमेत घट्दै गएको ९० वर्षीय बेनीबहादुर विष्टले बताए ।
उनका अनुसार पहिले देउसीभैलोले गाउँघरमा आपसी सद्भाव, मेलमिलाप र सामाजिक एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्थ्यो । गाउँका मानिस एकै ठाउँमा भेला भएर सामूहिक रूपमा रमाइलो गर्ने र स्थानीय संस्कृति झल्काउने गीत तथा भाका गाउने गर्थे । तर, आधुनिक मनोरञ्जनका साधनको बढ्दो प्रयोग र बदलिँदो जीवनशैलीका कारण यस्ता गतिविधि कम हुँदै गएको उनको भनाइ छ ।
तिहार नेपालीहरूको महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यस अवसरमा घरआँगन सफा गर्ने, दीप प्रज्ज्वलन गर्ने, देउसीभैलो खेल्ने, काग, कुकुर, गाई तथा गोरुको पूजा गर्ने र भाइटीका लगाउने परम्परा रहिआएको छ । तर, समयसँगै पर्व मनाउने शैलीमा आएको परिवर्तनले कतिपय स्थानीय मौलिक अभ्यास लोप हुने अवस्थामा पुगेका छन् ।
आधुनिक प्रविधि र सुविधाको विकासलाई आत्मसात् गर्दै मौलिक संस्कृति तथा परम्पराको संरक्षण गर्नु अहिलेको आवश्यकता बनेको स्थानीय जानकारहरूको भनाइ छ । नयाँ पुस्तालाई परम्परागत संस्कार र तिनको सांस्कृतिक महत्त्वबारे जानकारी गराउँदै यस्ता अभ्यासलाई व्यवहारमै निरन्तरता दिन सके तिहारको मौलिक पहिचान जोगाउन सकिने उनीहरूको धारणा छ ।