Lite Nepal

बुधबार, कार्तिक २५, २०८३

विराटनगर । कोशी प्रदेश सरकारले राष्ट्रिय विभूति तथा किरात धर्मका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको १४१औँ जन्मजयन्तीको अवसर पारेर प्रत्येक वर्ष कात्तिक २५ गतेलाई कोशी प्रदेश भाषा दिवसका रूपमा मनाउन सुरु गरेको छ ।

प्रदेशमा बोलिने विभिन्न भाषा तथा मातृभाषाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारले कात्तिक २५ गतेलाई भाषा दिवसका रूपमा मनाउने निर्णय गरे अनुसार आजबाट यसलाई कार्यान्वयनमा ल्याइएको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बताए । प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनसमेत आजैदेखि कार्यान्वयनमा ल्याइएको छ ।

मुख्यमन्त्री कार्कीद्धारा महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा जारी शुभकामना सन्देशमा प्रदेश सरकारले यसलाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरिएको छ । प्रदेशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक पहिचानलाई सम्मान गर्दै भाषिक विविधताको संरक्षण र विकासमा जोड दिइएको छ ।

महागुरु फाल्गुनन्द सत्य, अहिंसा, शान्ति, समानता, नैतिकता र सामाजिक सद्भावका पक्षधर रहेको उल्लेख गर्दै उहाँले समाजमा विद्यमान कुरीति, कुसंस्कार र विभेद अन्त्य गरी सभ्य, सुसंस्कृत तथा न्यायपूर्ण समाज निर्माणमा पु¥याएको योगदान स्मरण गरिएको छ ।

भाषा कुनै पनि समुदायको सञ्चारको माध्यम मात्र नभई पहिचान, इतिहास, सभ्यता, संस्कृति र मौलिकताको आधार भएको सन्देशमा उल्लेख छ । कुनै भाषा लोप हुनु भनेको त्यससँग जोडिएको ज्ञान, परम्परा, इतिहास र सांस्कृतिक सम्पदासमेत गुम्नु भएको भन्दै प्रदेशमा प्रचलित सबै भाषा तथा मातृभाषाको संरक्षणलाई साझा दायित्वका रूपमा लिन आग्रह गरिएको छ ।

प्रदेश सरकारले सरकारी कामकाजमा भाषाको प्रयोग विस्तार गर्दै भाषिक विविधतालाई संस्थागत सम्मान प्रदान गर्ने दिशामा भाषा दिवस महत्त्वपूर्ण उपलब्धि र ऐतिहासिक प्रस्थानविन्दु बन्ने विश्वास व्यक्त गरेको छ ।

सीमित स्रोत र साधनका बाबजुद प्रदेशमा बोलिने सबै भाषाको संरक्षण र विकासका लागि आवश्यक नीति, कानुन तथा कार्यक्रममार्फत निरन्तर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

महागुरु फाल्गुनन्दको जन्मजयन्तीलाई भाषा दिवसका रूपमा मनाउने कार्यलाई औपचारिक उत्सवमा मात्र सीमित नराखी मातृभाषा, मौलिक पहिचान, संस्कृति, साहित्य तथा लिपिको संरक्षण र पुस्तान्तरण गर्ने साझा अभियानका रूपमा अघि बढाउन प्रदेशवासीलाई आह्वान गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं