भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना ‘पञ्चकन्या कृषि सडक’ अन्तर्गत तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र गरिएको छ। सडक कालोपत्र भएसँगै वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने समस्याबाट स्थानीयले राहत पाएका छन्।
मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–लेगुवा सडकसँग जोडिएको तिवारीभञ्याङलाई शून्य विन्दु मानेर गाउँपालिकाको केन्द्र च्याङ्गेसम्म सडक कालोपत्र गरिएको हो। सडकले गाउँपालिकाको कृषि, पर्यटन तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।

पौवादुङमा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार तिवारीभञ्याङदेखि अँधेरीघाटसम्मको ३१ किलोमिटर सडकखण्डमध्ये गाउँपालिका केन्द्र च्याङ्गेसम्म करिब दुई किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो। सडक निर्माणलाई दुई प्याकेजमा विभाजन गरी तिवारीभञ्याङदेखि वडा नं. २ स्थित स्वास्थ्यचौकीसम्म र त्यहाँबाट गाउँपालिका केन्द्र च्याङ्गेसम्म कालोपत्र गरिएको उनले जानकारी दिइन्।

सडक कालोपत्र भएपछि स्थानीयवासी उत्साहित भएका छन्। पौवादुङमा गाउँपालिका–२ तिवारीभञ्याङका स्थानीय राजकुमार तिवारीले सडक निर्माणले जनजीवन सहज बनाएको बताए। सडकले गाउँपालिकाका विभिन्न क्षेत्रलाई जोडेकाले स्थानीय कृषि उपजले समेत बजार पाउने उनको अपेक्षा छ।
गाउँपालिका अध्यक्ष किरण राईले उक्त सडकलाई गाउँपालिकाको गौरवको योजनाका रूपमा अघि बढाइएको बताए। भोजपुरलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्गका रूपमा रहेको यस सडकलाई आगामी दिनमा अँधेरीघाटसम्मै कालोपत्र गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।
सडक कालोपत्र भएपछि गाउँपालिकाको केन्द्रसम्मको आवतजावत सहज हुनुका साथै कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले बाँकी सडकखण्डलाई समेत स्तरोन्नति गर्दै पूर्ण रूपमा कालोपत्र गर्ने लक्ष्य लिएको छ।