झापा । पछिल्लो १६ वर्षको समयमा झापामा हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन् । यो २०६७ असार ३ देखि २०८३ असार मसान्तसम्मको तथ्यांक हो ।
मृत्यु हुनेमा ७० जना नेपाली र १० जना गैरनेपाली नागरिक रहेका छन् । सोही अवधिमा मानव–हात्ती द्वन्द्वका कारण २८ वटा जंगली हात्तीको समेत मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

आर्थिक वर्ष २०८२÷८३ मा मात्रै हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु भएको थियो भने १७ जना गम्भीर घाइते भएका थिए । हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा झापाको मेचीनगरका स्थानीय बढी छन् ।

मानवीय क्षतिसँगै हात्तीबाट घरगोठ, पशुधन, भण्डारण गरिएको अन्न र खेतीपातीमा समेत ठूलो क्षति पुग्दै आएको छ ।
आर्थिक वर्ष २०८२÷८३ मा मात्रै हात्तीबाट पीडित बनेका नागरिकलाई राहत तथा क्षतिपूर्तिबापत करिब दुई करोड रुपैयाँ वितरण गरिएको डिभिजन वन कार्यालय झापाले बताएको छ । सो अवधिमा १५ वटा पशुधन, १ सय ९१ स्थानमा भण्डारण गरिएको अन्न र २ सय ६८ घरगोठमा क्षति पुगेको थियो ।
वन क्षेत्रको अतिक्रमण, हात्तीको परम्परागत जैविक मार्ग अवरुद्ध हुनु, बस्ती विस्तार तथा वन क्षेत्रमा आहारा र पानीको अभाव हुनु मानव–हात्ती द्वन्द्व बढ्नुका प्रमुख कारण मानिएका छन् ।