काठमाडौं । आजदेखि कोरियन भाषा परीक्षा सञ्चालन हुने भएको छ। ईपीएस कोरिया शाखाले आजदेखि सेवा क्षेत्रको परीक्षा सञ्चालन गर्न लागेको हो। पहिलो दिन सेवा क्षेत्रका लागि मात्र परीक्षा सञ्चालन हुनेछ। सेवा क्षेत्रमा १ हजार ३९ जनाले आवेदन दिएका छन्।
यस पटक परीक्षामा दुईवटा नयाँ क्षेत्र थप गरिएका छन्। यसअघि उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने गरेकोमा यसपटकदेखि सेवा क्षेत्र र वन क्षेत्र थप गरिएका हुन्।

परीक्षा क्षेत्रअनुसार सञ्चालन हुनेछ। नोभेम्बर १८ देखि वन क्षेत्रमा परीक्षा सञ्चालन हुनेछ। नोभेम्बर २० देखि कृषि तथा पशुपालन क्षेत्रको परीक्षा सञ्चालन हुनेछ। उत्पादनमुलक क्षेत्रको परीक्षा चाहिँ डिसेम्बर ११ देखि मात्र सुरु हुनेछ।

आजदेखि सुरु हुने परीक्षा २०२७ फेब्रुअरी २५ सम्म सञ्चालन हुनेछ।
७६ हजार बढीको आवेदन
७६ हजार १७३ जनाले परीक्षाका लागि आवेदन दिएका छन्। यसपटक पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिनेको संख्या उच्च छ। जसमा ५३ हजार १०३ जनाले उत्पादनमुलक क्षेत्रमा परीक्षा दिने छन्। कृषि तथा पशुपालनमा २० हजार ९०७, वन क्षेत्रमा १ हजार १२४ र सेवा क्षेत्रमा १ हजार ३९ जनाले आवेदन दिएका छन्।