विजेताले ११ लाख पाउने
झापा । दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगिता अवलोकनका लागि एकैपटक सात हजार दर्शक अट्ने क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बूका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक झापा–११ फुटबल क्लब र आरएस पोखरा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछ । गत संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार राशि ९० हजार र उपविजेताको ५० हजार रुपैयाँले वृद्धि गरिएको अध्यक्ष लिम्बूले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी, प्रत्येक दिनको उत्कृष्ट खेलाडी (प्लेयर अफ द म्याच) लाई १५ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिनेछ ।