काठमाडौं । ज्यालासम्बन्धी विवाद समाधान नभएपछि जर्मनीको सबैभन्दा ठूलो मजदुर संगठन आईजी मेटलले सोमबार २४ घण्टे चेतावनीमूलक हडताल आह्वान गरेको छ। संगठनका अनुसार उत्तरी जर्मनीका १९ कम्पनीका करिब २३ हजार कामदार हडतालमा सहभागी हुनेछन्।
हडतालमा अटोमोबाइल निर्माता मर्सिडिज बेन्ज, पानीजहाज निर्माता मेयर वेफ्ट र वायु ऊर्जा कम्पनी सिमेन्स गामेसाका कर्मचारीसमेत सहभागी हुनेछन्। यसअघि गत शुक्रबार १७ औद्योगिक केन्द्रमा भएको हडतालमा करिब १२ हजार ३०० कामदारले काम छाडेका थिए।

कामदारको तलब ५ प्रतिशतले वृद्धि गर्नुपर्ने माग पूरा गराउन रोजगारदातामाथि दबाब सिर्जना गर्ने उद्देश्यले हडताल आयोजना गरिएको आईजी मेटलले जनाएको छ। तर, रोजगारदाताहरूले आगामी वर्ष एकमुष्ट रकम भुक्तानी गर्ने र सन् २०२८ को जुलाईदेखि तलबमा १.३ प्रतिशत वृद्धि गर्ने प्रस्ताव अघि सारेका छन्। दुवै पक्षबीच सहमति हुन नसकेपछि मजदुर संगठनले आन्दोलनलाई थप तीव्र बनाएको हो।
