ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-२ खनेखर्कस्थित निशंखे–ओखलढुङ्गा भित्री कच्ची सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
आज बिहान ७:१५ बजे निशंखेबाट सिद्धिचरण नगरपालिका-८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १-०७-००१ ज ०००५ नम्बरको बोलेरो जिप सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी निशंखे, अस्थायी प्रहरी पोस्ट मिलनचोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल ओखलढुंगा पठाएको छ ।
दुर्घटनामा सिद्धिचरण नगरपालिका–२ का ३४ वर्षीय सरोज आचार्य, २४ वर्षीया मिरा सार्की, उनका एक वर्षीय छोरा रोयन मंग्राती, २९ वर्षीय सबिन आचार्य, ७ वर्षीय आयुश मंग्राती, ७ वर्षीय प्रशान्त रम्तेल, २९ वर्षीया रमिला नेपाली, उनका ६ वर्षीय छोरा प्रबिन मंग्राती र ३२ वर्षीया मिना मंग्राती घाइते भएका छन् ।
घाइते सबैको सामुदायिक अस्पताल ओखलढुंगामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।