Lite Nepal

मंगलबार, मंसिर ०८, २०८३

विराटनगर । नेपाल–भारत पर्यटन सहकार्यका साथै पूर्वी सीमावर्ती क्षेत्रको पर्यटन विकास तथा संयुक्त पर्यटन प्रवर्द्धनका विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित मन्त्री र सचिवहरूसँग सरोकारवाला एक टोलीले छलफल गरेको छ ।

गैर आवासीय नेपाली संघका प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समिति अध्यक्ष सोमनाथ सापकोटा, जिल्ला होटेल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल र प्रकृति संरक्षण अभियन्ता तथा सगरमाथा आरोही पीके शेर्पाले मंगलबार मुख्यमन्त्री कार्कीसहित पर्यटन मन्त्री खिनु लंवा लिम्बू, पर्यटन सचिव डा.ईन्द्रप्रसाद सापकोटा र आन्तरिक मामिला मन्त्रालयका सचिव कृष्णप्रसाद सापकोटा सँग छलफल गरेका हुन् ।

छलफलका क्रममा संघका प्रवक्ता सापकोटाले मुख्यमन्त्री र पर्यटन मन्त्रीसँग पूर्वी सीमावर्ती क्षेत्रसहित कोशी प्रदेशको पर्यटन विकासमा गैर आवासीय नेपाली संघले प्रदेश सरकारसँग गर्न सक्ने सहकार्यमा सधैँ तयार रहेको बताएका थिए । आफूले लामो समयदेखि नेपालको पर्यटन विकासमा काम गरिरहेकाले अब कोशी प्रदेशलाई केन्द्रमा राखेर काम गर्ने योजना बनाएकोसमेत उनले बताए ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा पर्यटनका हिसाबले गर्न सक्ने कार्य धेरै भएकाले कुनै योजनामा सहकार्यको प्रस्ताव आए प्रदेश सरकार सधैँ तयार रहेको बताए । यस्तै पर्यटन मन्त्री लिम्बूले होटेल व्यवसाय र पर्यटनको विकास सँगै लैजानु पर्ने आवश्यकता रहेकाले यस्तो कार्यको योजनामा मन्त्रालय सधैँ स्वागत गर्न तयार रहेको उल्लेख गरिन् ।

यता पर्यटन सचिव डा.ईन्द्र प्रसाद सापकोटासँगको छलफलमा जिल्ला होटेल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले ताप्लेजुङमा रहेको पाथीभरामा वन अतिक्रमण गरी घर टहरा बनाउने कार्य रोक्ने विषयमा प्रदेश सरकारले के गरिरहेको छ ? भन्ने जिज्ञासा राखेका थिए । जवाफमा सचिव सापकोटाले आफूले उक्त क्षेत्रको अवलोकनसमेत गरेर आएकाले त्यहाँको अतिक्रमण रोक्ने कार्य सुरु भएको र विकासका विषयमा मन्त्रालयले गर्ने अन्य काम पनि सुरु भएको जानकारी दिए ।

प्रकृति संरक्षण अभियन्ता तथा सगरमाथा आरोही पीके शेर्पाले कोशी प्रदेशको सान कञ्चनजंघा हिमाल क्षेत्रको फोहोर संकलन र सरसफाइमा आफूले निरन्तर काम गरेको जानकारी दिँदै यस क्षेत्रको विकासमा प्रदेश सरकारको ध्यान पुग्नुपर्ने धारणा राखे ।

टोली मुख्यमन्त्री, मन्त्री र सचिवहरूसँगको छलफलपछि इन्डो नेपाल टुरिजम वेल्फेयर सोसाइटी, भारतको निमन्त्रणामा नेपाल–भारत सीमापार पर्यटन, सञ्चार तथा आतिथ्यसम्बन्धी अन्तरक्रिया कार्यक्रम २०२६ मा सहभागी हुन आजै भारत प्रस्थान गरेको छ । आज मंगलबार राती भारतको बिहारमा उक्त कार्यक्रमको आयोजना गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं