काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलका दुई विधामा सम्मानित भएको छ ।
भिसा इन्टरनेशनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’मा बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ अवार्ड प्राप्त गरेको हो ।

ग्राहकको बदलिँदो आवश्यकताअनुसार प्रविधिमा आधारित बैंकिङ सेवाको विकास, डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन तथा अतिरिक्त सेवाको विस्तार गरेबापत उक्त अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकले यसअघि सन् २०१४ मा ‘बैंक अफ द इयर’, सन् २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ अवार्ड प्राप्त गरेको थियो ।
यसका अतिरिक्त युरोमनी अवार्ड फर एक्सिलेन्स, बेस्ट बैंक ईएसजी नेपाल तथा बेस्ट इम्प्लोयरलगायतका अवार्डसमेत प्राप्त गरेको बैंकले जनाएको छ ।
मुलुकका ७७ वटै जिल्लामा सञ्जाल विस्तार गरेको बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, मलेसिया, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (युएई) र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउने सेवासमेत प्रदान गर्दै आएको छ ।