काठमाडौं । अमेरिकाले युक्रेनका एफ-१६ लडाकु विमानको मर्मतसम्भारका लागि आवश्यक उपकरण तथा सहयोग उपलब्ध गराउन ६२ करोड १९ लाख अमेरिकी डलर बराबरको प्रस्तावित बिक्रीलाई स्वीकृति दिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले बुधवार जारी गरेको विज्ञप्तिमा युक्रेनको एफ-१६ लडाकु विमान बेडाका लागि मर्मतसम्भार सहयोग र सम्बन्धित उपकरण बिक्री गर्ने प्रस्ताव स्वीकृत गरिएको जनाएको हो ।

उक्त खरिदका लागि बेल्जियम, डेनमार्क, नेदरल्याण्ड्स र नर्वेले बहुराष्ट्रिय ‘जम्पस्टार्ट’ कार्यक्रममार्फत रकम उपलब्ध गराउनेछन् ।

यस कारोबारमा अमेरिकी सरकारको कुनै पनि रकम खर्च नहुने विदेश मन्त्रालयले स्पष्ट पारेको छ । युक्रेन सरकारले माग गरेको उक्त उपकरण तथा सहयोग प्याकेजमा विमानका विभिन्न पार्टपुर्जा, प्रयोगशालामा आवश्यक उपकरण र ढुवानीसम्बन्धी सहयोग समावेश छन् ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार यो प्याकेज यसअघि स्वीकृत भएको अर्को विक्री प्रस्तावमा थप गरिनेछ । यसअघिको बिक्री रकम अमेरिकी संसद् (कंग्रेस) लाई औपचारिक जानकारी गराउनुपर्ने निर्धारित सीमाभन्दा कम रहेको थियो ।
अमेरिकाको पछिल्लो निर्णयले युक्रेनको एफ-१६ लडाकु विमान सञ्चालन तथा मर्मतसम्भार क्षमताका लागि युरोपेली मुलुकहरूको आर्थिक सहयोगलाई थप विस्तार गर्नेछ ।