
विराटनगर । साथीभाइ भेटघाटको क्रममा हिजोआज संवादको ताप बढाउन कफी अनिवार्यजस्तै बनेको छ । तर, यही कफी कसैका लागि केवल कुराकानीको बहाना मात्र नभई आत्मनिर्भर भविष्य र अन्तर्राष्ट्रिय पहिचानको माध्यम पनि बन्न सक्छ भन्ने उदाहरण हुन् – दाबुटी शेर्पा ।
दोलखाको विकट सिमी गाउँबाट सुरु भएको उनको जीवनयात्रा आफैँमा संघर्षको प्रेरक दस्तावेज हो । नामको अगाडि ‘बारिस्टा’ को उपाधि र काँधमा हिमाल आरोहीको परिचय बोकेकी दाबुटीले कफीको स्वादलाई कपमै सीमित राखिनन्, यसलाई सगरमाथाको चुचुरोमा पुर्याएर विश्व कीर्तिमान रचिन् ।
उनलाई धेरैले दाबुटीको नामभन्दा पनि ‘बारिस्टा दावा’को रूपमा चिन्ने गर्दछन्, जहाँ नामसँगै उनको पहिचान पनि खनिएको छ ।

उनको बाल्यकाल अभाव र दुःखको पर्याय थियो । एसएलसी लगत्तै कलिला काँधमा आमाबुबाको आशीर्वाद र भाइबहिनीको जिम्मेवारी बोकेर उनी सपनाको सहर काठमाडौं पसिन् । सहरको भीडमा सपनाहरू भत्किएलान् कि भन्ने डर र सफलताको हुटहुटीबीच उनको भेट ‘मितिनी कफी’ नामक कोरियन क्याफेसँग भयो ।
जागिरको विज्ञापनले देखाएको यही बाटो उनको जीवनको टर्निङ पोइन्ट बन्यो । उनी भन्छिन्, ‘काम गर्दै जाँदा अवसरका ढोकाहरू खुल्दै गए ।’ इमानदारिता र लगनशीलताले उनलाई सामान्य कर्मचारीबाट प्रशिक्षकको तहसम्म पु¥यायो । नेपालमा कफी ‘कल्चर’ भर्खरै बामे सर्दै गरेको समय उनले कफी मेसिन चलाउनेदेखि मेनु तयार गर्ने र नयाँ आउटलेट सञ्चालनसम्मको दक्षता हासिल गरिन् ।
झन्डै १३ वर्षको कफी अनुभवले उनलाई आर्थिक रूपमा सबल मात्र बनाएन, एक विज्ञका रूपमा पनि स्थापित गरायो । तर, बाल्यकालदेखि नै नयाँ र फरक गर्ने उनको हुटहुटी अझै शान्त भएको थिएन । सन् २०१७ मा उनलाई लाग्यो, ‘नेपाली कफीलाई अन्तर्राष्ट्रिय स्तरमा किन नचिनाउने ?’

यही सोचले उनलाई विश्वको सर्वोच्च शिखर सगरमाथातर्फ डोर्यायो । उनको योजना थियो, सगरमाथाको शिखरमा पुगेर कफी बनाउने । तर, सपना र यथार्थबीच ३० लाख रुपैयाँको आर्थिक चुनौती र परिवारको अस्वीकृति पर्खाल बनेर उभियो । ‘हिमाल चढ्नु भनेको परिवारका लागि मृत्युको मुखमा जानु सरह थियो,’ उनी सम्झिन्छिन् ।
तर, उनी पछि हटिनन् । ‘हाम्रो सगरमाथा, हाम्रो गौरव, कृषि विकासमा हाम्रो पौरख’ भन्ने नारासहित उनले अभियान सञ्चालन गरिन् । सामाजिक सञ्जालमा समेत सहयोगको अपिल गर्दै आर्थिक पहाड पनि पार गरिन् ।
सन् २०१८ को वसन्त ऋतुसँगै उनी सगरमाथाको आधार शिविरतर्फ बढिन् । तर, यात्रा सहज थिएन । क्याम्प–२ पुग्दा उनी बिरामी परिन्, अनिद्रा र थकानले शरीर गलायो । शारीरिक कमजोरीका बाबजुद उनको मानसिक दृढता अडिग रह्यो ।
अन्ततः १४ मे २०१८ को बिहान ८ बजे उनले सगरमाथाको शिखर चुमिन् । मौसम बिग्रँदै थियो, हावाको वेग तीव्र हुँदै थियो, समय न्यून थियो तर संकल्प विशाल । त्यही ८,८४८ मिटरको उचाइमा घरेलु कफी मेकर निकालेर उनले ‘हिमालयन अरबिका कफी’ तयार पारिन् ।
त्यसै क्षण उनले दुई विदेशी र दुई नेपाली आरोहीलाई कफी पिलाइन् । यो ऐतिहासिक कार्यले उनलाई ‘सगरमाथामा कफी बनाउने पहिलो बारिस्टा’ का रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ज गरायो ।

हुन त शिखरको खुसी लामो समय टिक्दैन । तल झर्दै गर्दा मौसम अचानक बिग्रियो, हुरी चल्यो र दृश्य शून्यजस्तै बन्यो । दक्षिण कोलमा गाइडले अक्सिजन सिलिन्डर फेर्दा दाफुटीले आफ्नो हात नीलो भएको देखिन् । त्यही बेला उनले सोचिन्, ‘म अरूको बोझ बन्नु हुँदैन, आफैँ सक्षम हुनुपर्छ ।’ त्यही आत्मबल र आत्मविश्वासले उनी साहासिक यात्रा पार गर्न सफल भएको त्यो खुशीको क्षण स्मरण गर्दै सुनाउँछिन् ।
उनी भन्छिन्, ‘मृत्युसँगको त्यो पौंठेजोरी जित्दै सकुशल घर फर्किए, अझ परिपक्व र आत्मविश्वासी बनेर ।’
आज दाफुटी शेर्पा केवल हिमाल आरोही मात्र होइनन्, एक सफल उद्यमी पनि हुन् । मकालु, आमादब्लम, लोबुचे र अन्नपूर्ण–१ आरोहण गरिसकेकी उनी काठमाण्डौको विभिन्न स्थानमा आफ्नै तीनवटा कफी फ्रेन्चाइज सञ्चालन गरिरहेकी छिन् । उनले हजारौँ बढी युवायुवतीलाई बारिस्टा, बारटेन्डर र कुकिङ सम्बन्धी तालिम प्रदान गरिसकेकी छन् ।
कफीबाट सुरु भएको उनको यात्रा आज हजारौँ युवाका लागि प्रेरणाको स्रोत बनेको छ । उनी भन्छिन्,‘कफी र सगरमाथाले मलाई मेरो पहिचान दिएका छन्, संघर्षको कफी जति कडा हुन्छ, सफलताको स्वाद उति नै मिठो हुन्छ ।’

