झापा । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराई आफ्नो गृह जिल्ला ताप्लेजुङका एमाले उम्मेदवार क्षितिज थेबेको चुनावी आमसभा र अभियान सकेर अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा–५ पुगेका छन् ।
उनी ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित एमाले ताप्लेजुङको अन्तिम चुनावी आमसभालाई शनिवार सम्बोधन गरेर साँझ नै झापा पुगेका हुन् । उनले आइतबार र सोमबार झापा ५ का विभिन्न स्थानमा पुगेर चुनावी कार्यक्रमलाई सम्बोधन गर्नुको साथै केपी शर्मा ओलीलाई मत माग्ने उनको निजी सचिवालयले जानकारी दिएको छ ।
यसैबिच उपमहासचिव भट्टराईले आइतबार झापा–५ को कमल गाउँपालिका गेउरियामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै केपी शर्मा ओलीको विजय वा पराजय मुलुकको विजय वा पराजयसँग जोडिएको बताए । ‘केपी शर्मा ओलीको विजय वा पराजय नेकपा एमालेसँग मात्र जोडिएको छैन, उहाँको विजय वा पराजय यो देशको विजय वा पराजयसँग जोडिन्छ’, उनले भने ।
ओलीको विजय वा पराजय देश र नेपाली जनताको स्वाभिमानसँग प्रत्यक्ष सम्बन्धित विषय भएको उनले स्पष्ट पारे । उनका अनुसार यो विषय नेपाली राष्ट्रियता, स्वाभिमान र नेपालीत्वसँग जोडिएको छ । ‘केपी ओलीको विजय भनेको यो देशको स्वाभिमानलाई माथि उठाउने कुरा हो, राष्ट्रियतालाई सुदृढ बनाउने कुरा हो र ‘हामी नेपाली हौँ’ भन्ने पहिचानलाई अझ गर्वका साथ उचाल्ने विषय हो’, उनले थपे ।

उपमहासचिव भट्टराईले वर्तमान अवस्थामा पार्टीका आन्तरिक विषयलाई उठाउने समय नभएको धारणा राखेका थिए । अहिलेको आवश्यकता एक ढिक्का भएर पार्टीलाई विजय गराउने भएको उनको भनाई थियो ।
पार्टीभित्र कोही संगठन सञ्चालनको जिम्मेवारीमा, कोही संसद्मा र कोही स्थानीय तहमा रहेर काम गरिरहेको उल्लेख गर्दै उनले यस विषयलाई लिएर अनावश्यक चर्चा–परिचर्चा गर्न आवश्यक नरहेको बताए । पार्टीका सबै नेता–कार्यकर्ताले आ–आफ्नो स्थानमा रहेर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनको जोड थियो ।
ओलीले चुनावी कार्यक्रममा सहभागी भएर भट्टराई फेरि मतदानका लागि १८ गते गृह जिल्ला फर्कने कार्यक्रम रहेको छ ।
फुङलिङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नु अघि भट्टराईले शनिवार बिहान एक भिडियो सन्देश जारी गर्दै नेकपा एमालेमार्फत सिंगो देशको विजयका लागि सानातिना कुरालाई थाँती राखेर एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह समेत गरेका थिए । भिडियो सन्देशमा उनले भनेका छन्, ‘हामी एकताबद्ध भएर अघि बढेमा मात्र सिंगो देशले जित्ने छ, त्यो जित नै एमालेको जित हो ।’

नेता भट्टराईले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्न आगामी दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका निकायलाई थप निष्पक्ष बताउँदै अनुसन्धानको दायरा समेत फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्र, राष्ट्रिय स्वाभिमान, देश विकास र समृद्धिसहितको कामका लागि आउँदो निर्वाचनमा एमाले उम्मेदवारले जित्नुको विकल्प नरहेको उनको भनाइ छ ।
