काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ शक्तिहरूसँग एकता हुन खोज्दाखोज्दै पनि जबरजस्ती बाहिर राखिएको बताएका छन् ।
शनिवार बसेको केन्द्रीय कार्यालयको बैठक सकेपछि पत्रकार सम्मेलनमा घिसिङले नयाँ शक्तिहरूलाई एकताबद्ध हुनबाट बाहिर राखिएको बताएका हुन् ।
नयाँ राजनीतिक शक्तिहरू रास्वपासँग एकताबद्ध भएर जान खोजेको तर पुस १४ मा गरिएको सहमति एकतर्फी भंग गरेर बाहिर राखिएकोसमेत बताएका छन् । ‘हामी एकता हुन खोज्दाखोज्दै पनि हामीलाई जबरजस्ती बाहिर राखियो । यस्तो अवस्थामा हामी एक्लै पनि अगाडि बढ्ने प्रतिबद्धता जनाउन चाहन्छु,’ घिसिङले भने, ‘नेपाली जनताको माग, चाहना, हाम्रो त्यागलाई कमजोरीको रूपमा लिनुभयो र यो सहमति भंग गर्नुभयो । यो अवस्था आउँछ भनेर लागेको थिएन । यो १२ दिन ठुलो बिलखबन्द र अन्योलमा भएको परिस्थिति रह्यो ।’
अब देशभरि पार्टीले अभियान चलाउने र १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने घिसिङले घोषणा गरे । नयाँ राजनीतिक शक्तिसँग मिलेर अगाडि बढ्न पनि आफू तयार रहेको उनले बताए ।
