काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पृथ्वीनारायण शाहका दिब्यपदेशको स्मरण गर्दै मदन भण्डारी र बिपी कोइरालाले स्थापित गरेको सैद्धान्तिक मार्ग निर्देशनमा लाग्नु आजको आवश्यकता रहेको बताएका छन् ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औं जन्म जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै उपमहासचिव भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो सन्देश दिएका हुन् ।
उनले नेपाल राष्ट्र र यहाँको सामाजिक विविधतालाई नेपाली राष्ट्रियताको वरिपरि भावनात्मक रूपले एकताबद्ध गर्नु पर्ने ऐतिहासिक कार्यभार रहेको पनि उल्लेख गरेका छन् ।
‘नेपाल राष्ट्रको एकीकरण पश्चात् आज देश सबैभन्दा सङ्कट र कठिन मोडमा उभिएको छ । यति बेला हिमाल, पहाड, तराईसहित सबै जाती, जनजाति, भाषा, भाषी तथा धर्म र संस्कृतिका बिचमा अभूतपूर्व एकता र सद्भावको खाँचो छ,’ उनले लेखेका छन् ।
उपमहासचिव भट्टराई थप्छन्, ‘नेपाल राष्ट्र र यहाँको सामाजिक विविधतालाई नेपाली राष्ट्रियताको वरिपरि भावनात्मक रूपले एकताबद्ध गर्नु पर्ने ऐतिहासिक कार्यभार रहेको छ । पृथ्वीनारायण शाहका दिब्यपदेशको स्मरण गर्दै मदन भण्डारी र बिपी कोइरालाले स्थापित गरेको सैद्धान्तिक मार्ग निर्देशनमा, लोकतान्त्रिक व्यवस्थाका मूल्यमा आधारित भएर आजको सङ्कटको समाधानका लागि अघि बढ्न सबैमा अपिल गर्दछु ।’
