झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताएका छन् ।
आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले झापा यसपटक पूर्ण रूपमा एमालेमय हुने विश्वास व्यक्त गरेका हुन् । झापाली जनताको माया र समर्थन एमालेप्रति रहेको उल्लेख गर्दै उनले झापालाई सूर्यमय बनाउन सबै नेता-कार्यकर्ता तथा समर्थकलाई आ-आफ्नो स्थानबाट योगदान गर्न आग्रह गरे ।
अध्यक्ष ओलीले युवाहरू एमालेको पक्षमा जनमत निर्माण गर्न सक्रिय रूपमा लागिरहेको बताउँदै युवापुस्ताको ऊर्जा र सहभागिताले पार्टीलाई अझ मजबुत बनाउने धारणा व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीलाई चन्द्रगढी विमानस्थलमा नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वसभामुख देवराज घिमिरे, पूर्वमन्त्री देवेन्द्र दाहाललगायत पार्टीका नेता–कार्यकर्ता र युवाहरूको ठूलो उपस्थितिमा भव्य स्वागत गरिएको थियो।
