विराटनगर । नेपाल (एमाले) का तर्फबाट मोरङ क्षेत्र नं. ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद ढकालले ३० बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
‘हामीले भोट मात्र होइन, काम पूरा गर्ने अवसर खोजिरहेका छौँ’ भन्ने नारासहित सार्वजनिक गरिएको घोषणापत्रमा ढकालले स्थिर सरकार र समाजवाद उन्मुख नेपाल निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
प्रतिबद्धता पत्रमा विराटनगरको दीर्घकालीन समस्या ढल निकास र डुबान समाधानलाई पहिलो प्राथमिकतामा राखिएको छ । चक्रपथसहित मुख्य सडक स्तरोन्नति, गछिया, बुढीखोला, केशलिया र सिंगिया नदीमा तटबन्ध निर्माण गरी बाढी नियन्त्रण गर्ने योजना पनि समेटिएको छ ।
शिक्षातर्फ ‘स्मार्ट क्लासरुम’, ‘पढ्दै–कमाउँदै’ कार्यक्रम तथा मदरसा र गुरुकुललाई विश्वविद्यालयीय शिक्षासँग जोड्ने योजना अघि सारिएको छ भने स्वास्थ्य क्षेत्रमा विपन्न नागरिकलाई सहज उपचार पहुँच सुनिश्चित गर्ने उल्लेख छ ।
बन्द उद्योग पुनः सञ्चालन, युवा उद्यमीलाई बिना धितो ऋण, स्वरोजगारमूलक शिक्षा र कृषिमा मल–बीउको सुनिश्चितता, संकलन केन्द्र तथा शीत भण्डार निर्माण गर्ने योजना पनि घोषणापत्रमा छन् ।
सामाजिक सुरक्षाभत्ता वृद्धि, विपन्नलाई निःशुल्क विद्युतीय चुलो, सुकुम्बासी समस्या समाधान, सहकारी–लघुवित्तको चर्को ब्याजबाट राहत, साथै सुन्दरहरैँचा, बुढीगंगा र बौराहा क्षेत्रलाई पर्यटकीय रूपमा विकास गर्ने प्रतिबद्धता ढकालले जनाएका छन् ।
भ्रष्टाचार नगर्ने र अधुरा योजना पूरा गर्ने प्रतिबद्धतासहित उनले मतदातासँग समर्थन मागेका छन् ।

